स्वदेश फर्किएलान् त नेपाली वैज्ञानिक?

  • 26 मे 2017
नास्ट

विदेशमा रहेका नेपाली वैज्ञानिकलाई देशभित्र फर्काएर अध्ययन अनुसन्धानका काममा लगाउन नयाँ अभियान थालिएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका अधिकारीहरुले बताएका छन्।

उक्त कार्यक्रम अन्तर्गत स्वदेश फर्कने वैज्ञानिकहरुलाई विज्ञानका विभिन्न क्षेत्रहरु सहित वनस्पति, जडिबुटी र औषधि लगायतको क्षेत्रमा काम गराउने योजना बनाइएको छ।

विदेशमा नेपाली वैज्ञानिकहरु कति छन् भन्ने यकीन तथ्यांक सरकारी निकायहरुसँग छैन।

तर उनीहरुमध्ये केही देशभित्रै काम गर्ने उद्देश्यले तुलनात्मक रुपमा थौरै रकममा पनि काम गर्न तयार भएर स्वदेश फर्किरहेका छन्।

अनुसरण

अन्य कतिपय एशियाली मुलुकहरुको अनुसरण गर्दै 'फर्क है फर्क वैज्ञानिक: तिमीलाई डाक्छ नेपाल' कार्यक्रम ल्याएको नास्टका उपकुलपति जीवराज पोखरेल बताउँछन्।

Image caption अन्य एशियाली देशहरुबाट प्रेरणा लिएर यो अभियान शुरु गरिएको नास्टका उपकुलपतिको भनाइ छ।

उनले भने "छिमेकी मुलुक भारत, चीन र दक्षिण कोरियाले पनि विदेशमा रहेका वैज्ञानिकहरुलाई स्वदेश फर्काएर विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको पाइएको छ। त्यसैबाट प्रेरणा लिएर हामीले फर्क है फर्क वैज्ञानिक: तिमीलाई डाक्छ नेपाल भन्ने कार्यक्रम आरम्भ गरेका हौ।"

उनका अनुसार विदेशमा रहेका १८ जना नेपाली वैज्ञानिकले उक्त कार्यक्रम अन्तर्गत आवेदन दिइसकेका छन्।

तिनीहरु मध्ये ४ जना छनोटमा पर्न सफल भइसकेका छन्।

योगदान

ती मध्येका एक दक्षिण कोरियामा ११ वर्षसम्म वैज्ञानिक अध्ययन/अनुसन्धानको क्षेत्रमा काम गरेका गोर्खा पालुङटारका माधवप्रसाद न्यौपाने हुन्।

Image caption छनौट भएका एक वैज्ञानिक माधव प्रसाद न्यौपानेले जैविक पदार्थ विज्ञानबारे अनुसन्धान गर्न लागिरहेका छन्

उनको विषयगत दक्षता जैविक पदार्थ विज्ञानको क्षेत्रमा भएकोले स्वदेशमै यस विषयमा केही गरौं भन्ने चाहना आफुमा आएको उनले बताए।

न्यौपाने भन्छन्, "जुन देशमा हामीले पढेका हौँ त्यहाँ भन्दा हाम्रो देशमा ठूलो समस्या छ। हामीले दुख गर्यौं भने पछिका पुस्तालाई सजिलो हुन्छ। विदेशीहरुले केही सहयोग उपलब्ध गराइदिए भने हामी यो अवसर प्रयोग गरेर सफल हुन सक्छौं कि भन्ने पनि लागेको छ।"

दक्षिण कोरियाबाट आएका अर्का वैज्ञानिक तेह्रथुमका लक्ष्मीप्रसाद थापाले ७ वर्ष जैविक इन्धनमा काम गरेको बताउँछन्।

उनले सूक्ष्म जीवाणुहरुको प्रयोग गरेर खेर गएका जैविक फोहरहरुलाई जैविक इन्धनमा रुपान्तरण गर्ने काम गर्ने प्रस्ताव गरेका छन्।

सोही अनुसार नास्टले आवश्यक सामग्री किन्ने जमर्को गरिरहेको थापाले बताए।

उनले भने, "यहाँ पनि दु:खले काम गर्न सकिन्छ। जैविक उर्जाको क्षेत्रमा नै काम गर्ने विचार छ। बाहिर हासिल गरेको ज्ञानलाई देश सुहाउँदो ढङ्गले प्रयोग गर्ने मेरो योजना छ।"

चुनौती

Image caption दक्षिण कोरियाबाट आएका तेह्रथुमका वैज्ञानिक लक्ष्मीप्रसाद थापा निक्कै उत्साहित छन्

यद्यपि, उनीहरु दुई जनाले सोचे जसरी नेपालमा उच्च कोटीको वैज्ञानिक अनुसन्धान गर्न भने त्यति सरल देखिंदैन।

पहिलो चरणकोलागि सरकारले 'फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल' कार्यक्रमकोलागि जम्मा ५० लाख रुपियाँको बजेट छुट्याइएको उपकुलपति जिवराज पोखरेल बताउँछन्।

नास्टका उपकुलपति पोखरेलले अहिले स्वदेशमा नै उपस्थित भएका वैज्ञानिकहरुलाई चाहिं उनीहरुको अनभुव, दक्षता र सीपको आधारमा अनुबन्धन गरिएको बताए।

अनुबन्धन हुन बाँकी अन्य दुई जना मध्ये एक चीन र अर्को अमेरिकामा नै छन्।

अहिले उनीहरुको मासिक सेवा सुविधा भने ४० हजार रुपियाँको हाराहारीमा व्यवस्था गरिएको बताइएको छ।

लगानी थौरै भएपनि बैज्ञानिकहरुबाट सरकारले प्रतिफल दिने खालको अपेक्षा राखेको देखिन्छ।