'निर्वाचनमा भाग नलिने, अवरोध गर्ने'

  • 26 मे 2017
Image caption गठबन्धनले सरकारमाथि निर्वाचनमा भाग लिने वातावरण नबनाएको आरोप लगाएको छ।

तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुने अपेक्षा विपरित निर्वाचनमा सहभागी नहुने बरू निर्वाचनका कार्यक्रमलाई अवरोध गर्ने निर्णय गरेको छ।

निर्वाचनमा जाने वा आन्दोलनमा भन्नेबारे केही दिनदेखि लगातार भैरहेका छलफलकाबीच गठबन्धनले शुक्रबार त्यस्तो निर्णय गरेको हो।

सरकारसँग भएको सम्झौता अनुरुप संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने लगायतका आफ्ना मागहरु पुरा नभएकाले आन्दोलनको बाटो रोज्नु परेको गठबन्धनका नेताहरुको भनाई छ।

सबै दलहरूलाई निर्वाचनमा सहभागी गराउने वातावरण सृजना गर्ने भन्दै सरकारले स्थानीय तहको निर्वाचनलाई दुई चरणमा गर्ने निर्णय गरेको थियो।

त्यसबाहेक सरकारले स्थानीय तहको संख्या थप्ने, तराईमा राजनीतिक प्रदर्शनका क्रममा भएका हिंसात्मक घटना सम्बन्धी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने लगायतका निर्णय समेत गरेको थियो।

आरोप

तर त्यसको ठिक विपरित निर्णय गरेको गठबन्धनले सरकारले निर्वाचनमा भाग लिने वातावरण नबनाएको आरोप लगाएको छ।

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले भने, " निर्वाचनमा जाने परिस्थिति नै बनेन। हामी असहयोग गर्छौं। अवरोध गर्छौं। निर्वाचन नहुने परिस्थिति बनाउछौं र हामी विना निर्वाचन सम्भव छैन।"

निर्वाचनमा जाने वातावरण बनाउन सरकारले गर्नैपर्ने कामको विवरण दिँदै महतोले भने, " संविधान संशोधनदेखि लिएर गाँउपालिका, नगरपालिकाको संख्या जनसंख्याको आधारमा वृद्धि गर्नुपर्ने, मुद्धा फिर्ता गर्नुपर्ने, बन्दी साथीहरुको रिहाइ गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्छ।"

कारण

उनले निर्वाचनमा जानका लागि दल दर्ता नगरेको र चुनाव चिन्ह नपाएकाले पनि समस्या भएको बताए।

निर्वाचन र आन्दोलन दुईमध्ये कुन बाटो रोज्ने भन्ने बारेमा राष्ट्रिय जनता पार्टीभित्र देखिएका फरक मतका माझ निर्वाचनमा भाग नलिने निर्णय सार्वजनिक भएको हो।

निर्वाचनमा भाग लिँदा हालकै अवस्थाको संविधानलाई वैधानिकता दिएको सन्देश जाने आशंका प्रति ती दलहरु चिन्तित देखिएका छन्।

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले भने, " हामी सहभागी हुने चुनावले यो संविधानको मान्यतालाई अन्तिम रुप दिन्छ। र त्यसरी अन्तिम रुप हामीबाटै दिलाउने काम भइसकेपछि यसको संशोधन, यसमा परिमार्जन र हामीले जनता समक्ष गरेको वाचा अनुकूल नभएकोले चुनावमा नजाने निर्णय गर्नुपर्यो।"

गठबन्धनका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तीमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन प्रकृयामा अवरोध गर्ने खालका रहेका छन्।

तराईलाई नै मुख्य आधार बनाएर राजनीति गर्दै आएका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले भने यसअघि नै स्थानीय निर्वाचनमा सहभागी हुने बताइसकेका छन्।