‘सगरमाथामा अक्सिजनका सिलिण्डर चोरी’

  • 27 मे 2017
सलिण्डर तस्वीर कपीराइट DEVENDRA M SINGH

विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरहरुमा दिन प्रतिदिन अक्सिजनका सिलिण्डरहरु हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

जटिल मौसम, हिमाल चढ्न र ओर्लन समय लाग्ने भएकाले अक्सिजनका सिलिण्डर हराउँदा ज्यान नै जोखिममा पर्न सक्ने उनीहरुको चिन्ता छ।

सगरमाथाको चुचुरोमा जाने तयारी गरिरहेको आरोहीहरुको अन्तिम समूहले सफा मौसम कुरिरहँदा पछिल्ला चिन्ता सार्वजनिक भएका हुन्।

समस्या

विज्ञहरुले पर्वतारोहीको भीड र कतिपय अनुभवहीन आरोही र उनीहरुका असक्षम पथ प्रदर्शकहरुका कारण पनि समस्या बढेको टिप्पणी गरेका छन्।माथि माथि यो विषय एकदमै गम्भीर बनिरहेको छ

सगरमाथाको पहिलो भिडियो

सगरमाथामा हिलरी स्टेप ‘यथास्थितिमै’

"माथि माथि यो विषय एकदमै गम्भीर बनिरहेको छ," हालै सगरमाथा आरोहण गरेर फर्किएका पथ प्रदर्शक निमा तेन्जी शेर्पाले बीबीसीलाई बताए।

"मैलै आरोहण दलबाट उनीहरुका अक्सिजनका सिसीहरु हराएको कुरा बारम्बर सुनेको छु, यो एकदमै जोखिमपूर्ण हुनसक्छ किनभने माथि गइरहँदा चुचुरोमा नपुग्दै उनीहरुको अक्सिजन सकिन सक्छ र फर्कनका लागि उनीहरुले सञ्चित गरिएका सिसीहरु प्रयोग गर्ने योजना बनाएका हुन्छन्।"

विदेशी आरोहीहरुले त्यस्तो चोरीबारे सामाजिक सञ्जालमा आफ्ना धारणाहरु लेखेका छन्।

"हाम्रो भण्डारबाट थप सातवटा अक्सिजनका सिलिण्डरहरु हराएका छन्, यसपालि साउथ कोल (झण्डै ७,९०० मिटर उचाईमा अवस्थित चौथो शिविर नजिक) बाट ती सिलिण्डरहरु हराएका हुन्," गएको सोमबार एउटा आरोहण दलका नेता टिम मोसडेलले फेसबुकमा लेखेका छन्।

उनले अगाडि लेखेका छन्, "धन्न हिजो ल्होत्से चढेका पेम्बासँग साउथ कोल फर्किएर हाम्रो भण्डारण जाँचेर त्यसबारे जानकारी दिन पर्याप्त ऊर्जा कायमै थियो।"

तस्वीर कपीराइट AFP/Getty

उनले आफूहरु चुचुरो पुगेर केही दिनपछि फर्किंदा अक्सिजन सिलिण्डरहरु यथास्थानमै हुन्छन् या केही थप सिलिण्डरहरु हराइसक्छन् भनेर प्रश्न पनि गरेका थिए।

पर्वतारोहण क्षेत्रमा कार्यरत मानिसहरुले यस्तो चोरी एउटा प्रवृत्तिका रुपमा विकास भइरहेको प्रतिक्रिया दिएका छन्।

अनिवार्य

नेपाल राष्ट्रिय पर्वतारोहण गाइड एशोसिएशनका महासचिव फुर्वा नामग्याल शेर्पा भन्छन्, "टेन्टका ताला फोडेर चोरहरुले अक्सिजनका सिसी, खानेकुरा र खाना पकाउने ग्यास सिलिण्डर लैजान थालेपछि तपाईंले के नै गर्न सक्नुहुन्छ?"

"यस्ता घटनाका कारण आरोहीहरुले चुचुरोमा नै नपुगी फर्कनुपरेको पनि छ किनभने जीवन रक्षाका लागि अनिवार्य अक्सिजन नै नभएको तपाईंले थाहा पाइसकेपछि सबभन्दा पहिले तपाईं आधार शिविरमा नै फर्कन चाहनुहुन्छ।"

पथप्रदर्शक निमा तेन्जी शेर्पा भन्छन् सन् २०१२ मा भण्डारण गरिएका सिसीहरु चोरिएपछि शिखरबाट फर्कंदै गर्दा उनले आफ्नो अक्सिजनको सिलिण्डर आफ्ना ग्राहकलाई दिनुपरेको थियो।

अनुमतिबिनै सगरमाथा चढ्ने प्रयास विफल

"हामी तल ओर्लिरहेका थियौँ र हामीले हाम्रा सिलिण्डरहरु नरहेको थाहा पायौँ र मेरा विदेशी सेवाग्राहीको अक्सिजन सकिसकेको थियो। मैले जोखिम लिएँ र मेरो सिसी उनलाई दिएँ। भाग्यले हामी तल्लो शिविरसम्म आउन सफल भयौँ।"

पथ प्रदर्शकहरुको छाता संस्थाका अनुसार आरोहीहरुले सगरमाथाको चुचुरोमा पुग्न र त्यहाँबाट फर्कन औसतमा ७ सिलिण्डरसम्म अक्सिजनको खपत गर्ने गर्छन्।

आरोहीहरुले श्वासप्रश्वासका लागि त्यसलाई फरक-फरक परिमाणमा खपत गर्छन् र एकदमै उच्चदरमा प्रयोग गर्दा एउटा सिलिण्डर पाँच घण्टासम्म प्रयोग गर्न सकिने जानकारहरु बताउँछन्।

साधारणतया आरोहीहरुले क्याम्प तीनभन्दा माथिमात्रै साधारणतया अक्सिजनका सिलिण्डरहरु प्रयोग गर्ने गर्दछन्।

सगरमाथाको पाटो खसेको छःआरोही

तर अन्तिम आरोहणका लागि उपयुक्त मौसम कुरिरहँदा उनीहरुले आरोहणसँग अभ्यस्त रहन हिमालको माथि तल आवतजावत गरिरहनुपर्छ।

चिन्ताजनक

यसको अर्थ उनीहरुले उच्चबिन्दुहरुमा रहेका आधार शिविरहरुमा बस्दा ती सिलिण्डरहरुको प्रयोग गर्नुपर्छ।

अनुभवी शेर्पा आरोहीहरुले अहिलेसम्म अक्सिजन सिलिण्डरहरु चोरी गरेकोमा अरु कसैलाई पक्राउ नगरिएको बताएका छन्।

तस्वीर कपीराइट AFP/Getty

यसअघि पर्वतारोही मोसडेलले लोत्से हिमालमा पनि यस्तै गरी अक्सिजनका सिलिण्डरहरु चोरिएको विवरण राखेका थिए।

"हाम्रो अक्सिजन प्रयोगमा नै आइरहेको छ भनेर थाहा पाउञ्जेल हामी थप ल्याउन पनि सक्छौँ तर फर्किएर ल्याउनुपर्यो भने हो सम्पूर्ण आरोहण दलका लागि नै समस्या बन्छ र यसले अरु आरोहीहरुको जीवनलाई पनि जोखिममा पार्छ।"

यसअघि सगरमाथा आरोहण गर्ने क्रममा यो याममा अहिलेसम्म १० जनाले ज्यान गुमाइसकेको बताइएपनि नेपाली अधिकारीहरुले पाँचजनाको मात्रै मृत्यु भएको पुष्टि गरेका छन्।

कुनै पनि मृत्युको घटनासँग अक्सिजनको सिलिण्डरको चोरी सम्बन्धित नभएको बताइएको छ।

सगरमाथामा बढ्यो चहलपहल

जानकारहरुले पर्याप्त पूर्व तयारी नगरेका आरोहण तल र जीवन जोखिममा परेका आरोहीहरुले आफूसँग पर्याप्त आपूर्ति नुहँदा त्यसरी अक्सिजन सिलिण्डर चोरेको हुन सक्ने आशंका गरेका छन्।

उनीहरुले उच्च शिविरबाट चोरिएका अक्सिजनका सिलिण्डरहरुलाई आधार शिविरमा ल्याएर बेच्ने गरिएको जानकारी दिएका छन्।

प्राथमिकता

आरोही निमा तेन्जी शेर्पा भन्छन्, "आधार शिविरमा त्यसका लागि राम्रो बजार रहेको जस्तो देखिन्छ।"

तस्वीर कपीराइट ROBERT KAY

सरकारी अधिकारीहरुले यी सबै घटनाक्रमप्रति जानकार रहेको बताएका छन्।

उनीहरुले अबउप्रान्त प्रत्येक आरोहीले एकजना शेर्पालाई आफ्नो टोलीमा राख्नुपर्ने नियम ल्याउन लागेको बताएका छन्।

त्यसो गर्दा सबैले पर्याप्त आवश्यक सामाग्री जस्तै अक्सिजनका बोत्तल, औषधि र खानेकुराको व्यवस्था गर्ने उनीहरुको अपेक्षा छ।

"हामीले यो व्यवस्था पर्वतारोहणसम्बन्धी नियमावलीमा नै राख्न प्रस्ताव गरेका छौँ तर त्यसका लागि मन्त्रिपरिषद्कै तहबाट निर्णय गर्नुपर्ने हुन्छ," नाम उल्लेख गर्न नचाहेका पर्यटन मन्त्रालयका एकजना अधिकारीले भने।

नेपालमा निरन्तर सरकारहरु बदलिरहने भएकाले यस्ता विषयहरु प्राथमिकतामा नपर्ने गरेको ती अधिकारीले बताए।

यो यामका लागि सरकारले करिब ४०० आरोहीलाई सगरमाथा चढ्नका लागि अनुमति दिएको थियो।

त्यसमध्ये झण्डै ३०० ले सगरमाथा चढिसकेका छन् भने बाँकीले हिमालयमा सफा मौसम कतिबेला हुन्छ भनेर कुरिबसेका छन्।