जलवायु सहमति गर्न जी-सेभेन असफल

  • 27 मे 2017
जी-सेभेन समूहको बैठक तस्वीर कपीराइट AFP

जी-सेभेन समूहका धनी राष्ट्रहरुले इटलीमा जारी जीसेभेन समूहको शिखर सम्मेलनमा जलवायु परिवर्तनका विषयमा सहमति गर्न असफल भएका छन्।

अमेरिका बाहेकका ६ वटा देशले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्यारिस सहमति लागू गर्ने कि नगर्ने भनेर निर्णय गर्नका लागि समय दिने एकजना श्रोतले बताएका छन्।

ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा पहिलोपटक जीसेभेनको शिखर सम्मेलनमा भाग लिएका छन्।

जी-सेभेन समूहले आतंकवाद विरुद्धको एउटा वक्तव्यमा सहमति गरेको छ।

असहमति

समूहका ६ वटा देशका नेताले प्यारिस सहमति भनिएको हरितगृह उत्सर्जन घटाउने उद्देश्यको संसारको पहिलो विस्तृत सहमतिप्रति आफ्नो समर्थनको पुनर्पुष्टि गरेका छन्।

विश्वव्यापी तापक्रम वृद्धिलाई छल भनेर बेवास्ता गर्ने गरेका ट्रम्पले यो भन्दा अघि त्यो सहमति कार्यान्वयन नगर्ने धम्की दिएका थिए।

सन् २०१५ मा गरिएको प्यारिस सहमतिलाई समर्थन गर्ने कि नगर्ने भनेर आफूले निर्णय गरि नसकेको उनले ब्रिटेन, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापानका नेतालाई बताएका छन्।

त्यस विषयमा आगामी हप्ता निर्णय गर्ने भनेर ट्रम्पले ट्वीट गरेका छन्।

व्यापार सहमति

त्यस सम्मेलनमा भाग लिन सिसिली पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटेरेशले ट्रम्पको जस्तोसुकै अडान भएतापनि त्यो सहमति भने नटुट्ने बीबीसीलाई बताएका थिए।

संरक्षणवाद विरुद्धको लडाईंमा भने सो समूहका नेताहरु एकमत हुन सकेकोमा जर्मन चान्सलर मर्केलले सन्तुष्टि व्यक्त गरेकी छिन्।

जी-सेभेन समूह बनेदेखि नै स्वतन्त्र व्यापारको पक्षपाती रहेको छ।

जापानमा गरिएको त्यो समूहको पछिल्लो सम्मेलनले संरक्षणवाद नअपनाउनेमा जोड दिएको थियो।

तर अमेरिकालाई प्रथम प्राथमिकता दिने ट्रम्पको नारापछि अमेरिकाले संरक्षणवादलाई प्रवर्द्धन गर्ने हो कि भन्ने चिन्ता देखिएको थियो।

आप्रवास

ट्युनिशिया, केन्या, इथियोपिया, निजर र नाइजेरियाका नेताले पनि सो सम्मेलनमा भाग लिएका थिए।

इटली संसारका सबभन्दा धनी देशहरुलाई अफ्रिकालाई सहयोग गर्न प्रोत्साहन गर्न चाहन्छ ताकी अफ्रिकाका मानिसहरु खतरनाक यात्रा गरेर युरोप जान आफूलाई बाध्य नठानुन्।

यस वर्ष हालसम्म १५ सय भन्दा बढी आप्रवासीको भूमध्यसागरमा डुबेर मृत्यु भएको ठानिएको छ।