के ट्रम्पको दृष्टिकोण फेरिएला?

  • 28 मे 2017
सम्मेलन तस्वीर कपीराइट AFP

जी सेभेन समूहका विश्वका धनी देशका नेताहरु जलवायु परिवर्तनबारे कुनै संयुक्त धारणामा सहमति नै नगरी इटलीबाट फर्किएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्यारिश जलवायु सम्झौताप्रति पुनः प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन् भने हरित गृह ग्यासको उत्सर्जन कटौती गर्ने उक्त सम्झौताप्रति अन्य ६ वटा देशले आफ्नो समर्थन व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले अर्को हप्ता उक्त विषयमा निर्णय लिने बताएका छन्।

यसअघि विगतमा उनले प्यारिश सम्झौताबाट अमेरिका अलग हुने चेतावनी दिंदै आएका थिए।

टड्कारो

उक्त सम्मेलनको अवधिभर नै ट्रम्प अन्तर्राष्ट्रिय कानुन तथा महासन्धिहरु पालना गर्न कति तत्पर छन् भन्ने प्रश्न टड्कारो रुपमा उठेको थियो।

र, खासगरी बहुपक्षीय सहमतिहरुबाट आतंकवादको जोखिम कम गर्न बढी रुचि देखाउने गरेको ठानिएका ट्रम्पले जी सेभेनका आफ्ना साझेदारहरुसँग अरु बढी सामूहिक रुपमा काम गर्ने इच्छा देखाएका छन्।

तर जलवायु परिवर्तनको मुद्दामा भने ट्रम्प एक्लै उभिए।

सम्मेलनको अन्त्यमा जारी गर्ने भनिएको एउटा संयुक्त वक्तव्य ६ नेताहरुले कार्बन ग्यासको उत्सर्जन कटौती गर्न दुई वर्षअघि हस्ताक्षर गरिएको जलवायु सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

तर ट्रम्पले त्यसले अमेरिकी रोजगारीमा नकारात्मक असर पार्न सक्ने भन्दै समर्थन गर्न मानेनन् अनि एक हप्ताको समय उपलब्ध गराउन माग गरे।

असन्तुष्ट

त्यसप्रति जर्मन चान्सलर एंगेला मर्केल भने असन्तुष्ट देखिइन्।

मर्केलले जलवायु परिवर्तनसम्बन्धी बहस कठिन र असन्तोषजनक रहेको प्रतिक्रिया दिइन्।

उक्त सम्मेलनमा व्यापारसम्बन्धी एउटा समझदारी पनि भएको छ जसमा संरक्षणवादविरुद्ध लड्ने आवश्यकता औंल्याइएको छ तर पूर्वाग्रही व्यापार प्रवृत्तिबारे वाशिङटनका चासोहरुलाई पनि सम्बोधन गर्ने प्रयत्न गरिएको छ।

तस्वीर कपीराइट AFP

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ भने बढी नै आशावादी सुनिए।

उनले जी सेभेन समूहका ६ सदस्य राष्ट्रहरुबीचको एकताबारे महत्वपूर्ण कुराकानी भएको भन्दै त्यसले प्रभाव पार्न सक्ने बताए।

बदलिँदै

राष्ट्रपति ट्रम्पका सल्लाहकारहरुले उनको सोचाई बदलिँदै गएको बताएका छन् तर त्यो कुन दिशामा हो भन्ने चाहिँ खुलाएका छैनन्।

नौ दिनको आफ्नो पहिलो विदेश यात्रापछि राष्ट्रपति ट्रम्प अमेरिका फर्किंदै छन्।

सिसीलीमा अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै उनले आफ्नो भ्रमण उपलब्धिमूलक रहेको बताएका थिए।

तर साउदी अरेबीया र इजरेललाई उनले भ्रमणका क्रममा दिएको समर्थन र नेटो र जी सेभेनका आफ्ना साझेदारहरुका चासोमा उनीबाट व्यक्त प्रतिक्रियाहरु आपसमा बाझिएको देखिन्छ।

बीबीसीका कूटनीतिक संवाददाता जेम्स लान्डेल भन्छन्, डोनल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले विश्वमा खेल्ने भूमिका अझै विकासकै चरणमा रहेको जस्तो देखिन्छ।