काठमाण्डूका मेयरमा विद्यासुन्दर शाक्य

  • 28 मे 2017
विजयी

काठमाण्डू महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी घोषित भएका छन्।

काठमाण्डू जिल्ला मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीका अनुसार शाक्यले ६४, ९१३ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५, २६९ मत ल्याएका छन्।

जीतपछि संक्षिप्त प्रतिक्रिया दिंदै शाक्यले सबैको साझा मेयरका रुपमा काम गर्ने बताए।

५८, ९५२ मत ल्याएर उपप्रमुखमा कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी विजयी भएकी छन्।

को हुन् विद्यासुन्दर?

२०४९ र ०५४ सालका स्थानीय निर्वाचनमा शाक्य वडा नम्बर २१ बाट वडाध्यक्षका रुपमा निर्वाचित भएका थिए।

त्यसको करिब दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनबाट उनै शाक्य नेवार बहुल आफ्नो वडाको घेरा तेडेर देशकै राजधानी शहरको मेयरको रुपमा उदाएका छन्।

प्रतिपक्षी नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका शाक्यले देशकै स्थापित र पुरानो दल नेपाली कांग्रेसका उम्मेद्वार जोशीलाई फराकिलो मत अन्तरले पछाडि पार्दै जीत हासिल गरेका हुन्।

विशेषगरी काठमाण्डूको भित्री शहर र आफ्नो पार्टीमा बढी परिचित शाक्य राष्ट्रिय राजनीतिमा खासै चर्चामा रहेका व्यक्तित्व भने होइनन्।

उनको उम्मेदवारी घोषणा भइसकेपछि मात्रै धेरै काठमाण्डूवासीले उनको व्यक्तित्व, राजनीतिक छवि र काठमाण्डू महानगरपालिका सम्बन्धी उनका कार्ययोजनाबारे थाहा पाएका थिए।

चूनावी अभियानका क्रममा उनले दूई वर्षअघिको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणलाई उच्च महत्व दिने बताएका थिए।

वाचाहरु

त्यसबाहेक निर्वाचित भएको १०० दिनभित्रै १०१ वटा परियोजना शुरु गर्ने घोषणा गरेका थिए।

वृद्ध भत्तालाई बढाएर पाँच हजार रुपैयाँ पुर्याउने, काठमाण्डूका सम्पदा क्षेत्रहरुमा निःशुल्क इन्टरेन्ट सेवा उपलब्ध गराउने, विद्युतीय प्रशासन अघि बढाउने लगायतका वाचा पनि उनको थियो।

चुनावी घोषणापत्रमा उनको दलले स्थानीय तहको चुनावमा जित हात पारे काठमाण्डूमा मेट्रो रेलको सेवा शुरु गराउने उल्लेख गरेको थियो।

कतिपय यस्ता प्रतिबद्धता पूरा गर्ने हैसियत र स्रोत स्थानीय तहसँग नहुने विज्ञहरुले बताइसकेका छन्।

२०२० साल जेठ ९ काठमाण्डूको लगनटोलमा जन्मिएका शाक्यले राजधानीको शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक तहसम्मको अध्ययन गरेका छन्।

विद्यालय तहदेखिनै राजनीतिमा रुचि राख्ने शाक्यले २०३७ सालको जनमत संग्रहपछि सक्रिय राजनीतिमा प्रवेश गरेको बताइन्छ।

२०४६ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि स्थापित नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक युवा संगठन काठमाण्डूको संस्थापक कोषाध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका उनले त्यसपछि स्थानीय राजनीतिमा पकड बढाउँदै लगेका थिए।