ज्याकोब जुमाको 'दुबाई सर्ने योजना'

  • 28 मे 2017
दुबइ तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति जुमा विरुद्ध देशमा दवाव बढ्दै जाँदा उनी बसोबासका लागि दुबाइ जान लागेको खबर आएको छ

दक्षिण अफ्रिकाको सत्तारुढ दल एएनसीका बरिष्ठ सदस्यहरुले राष्ट्रपति ज्याकोब जुमा विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्।

प्रस्ताव पार्टीको कार्यकारी समितिको बन्द बैठकमा राखिएको बताइएको छ।

राष्ट्रपति जुमाले दक्षिण अफ्रिका छोडेर दुबाईमा घर बनाएर बसोबास गर्न लागेको देखाउने किसिमका इमेलहरु प्रकाशित भएपछि जुमामाथि दवाव बढेको छ।

राष्ट्रपतिका प्रवक्ताले ति इमेललाई 'अत्यन्त जालसाजीपूर्ण' भन्दै अस्वीकार गरेका छन्।

दवाव

विभिन्न भ्रष्टाचार काण्ड र अर्थतन्त्रलाई जथाभावी चलाएको भन्ने आरोपका माझ ज्याकोब जुमामाथि राजीनामा गर्न दवाव बढेको छ।

जुमाको सत्तासीन पार्टी एएनसीका बरिष्ठ सदस्यहरुले उनी विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्।

तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति ज्याकोब जुमा विरुद्ध राजीनामा दिन दवाव बढिरहेको छ

पार्टीभित्रबाट विद्रोह भएर ६ महिना यता दोश्रोपटक यस्तो प्रस्ताव आएको छ।

राष्ट्रपति जुमाका छोरा डुडुजेन र विवादास्पद गुप्ता परिवारको कम्पनीका अधिकारीहरुबीच आदान प्रदान भएको भनिएको पत्रहरुमा अबु धावीको राज परिवारलाई लेखिएको एक पत्र पनि संलग्न रहेको हाम्रा संवाददाताले बताएका छन्।

राष्ट्रपतिको भनाइ भन्दै पत्रमा लेखिएको छ, ''मेरो परिवारले यूएइलाई दोश्रो घर बनाउने निर्णय गरेको सुनाउन पाउँदा मलाई खुशी लागेको छ। र हाम्रो प्रस्तावित बसोबासमा यहाँहरुको छत्रछायाँ पाउदा हामी गौरवान्वित हुनेछौं।''

हाम्रा संवाददाता भन्छन्, उनको आफ्नै पार्टी उनी विरुद्ध उठ्न लागेका बेला यो जुमाको देशबाट बाहिरिने रणनीति हो कि भन्ने प्रश्न खडा भएको छ।

आगामी डिसेम्बर महिनामा एनसी पार्टीका बरिष्ठ नेताहरु सहभागी हुने महत्वपूर्ण सम्मेलनबाट राष्ट्रपतिका उत्तराधिकारी चयन गर्ने अपेक्षा गरिएको छ।