निर्वाचन कसैले रोक्न सक्दैन: प्रचण्ड

  • 28 मे 2017
प्रचण्ड
Image caption प्रधानमन्त्रीको जवाफपछि सरकारलाई आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ

कामचलाउ सरकारका प्रधानमन्त्री प्रचण्डले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका बारेमा अब कुनै अन्यौल नरहेको भन्दै निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको व्यवस्थापिका-संसदमा जवाफ दिदैं कामचलाउ सरकारका प्रधानमन्त्रीले प्रतिपक्ष र संविधानसँग असन्तुष्ट रहेका सबैलाई विश्वासमा लिन आफू निरन्तर संवादमा रहेको बताए छन्।

संसदमा पेश गरेको नीति तथा कार्यक्रम कामचलाउ नभई देशको वर्तमान आवश्यकता अनुसारको दावी प्रचण्डले गरेका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसद अवरोधका कारण केही दिन प्रभावित बनेको आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रममाथिको छलफल आइतबार सकिएको छ।

छलफलमा भागलिने सांसदहरु मध्ये सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गर्दै विपक्षीको संसद अवरोध गर्ने कदमको आलोचना गरे।

आलोचना

विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रम ल्याउने बेला सरकार अन्तरिम बनाइएको र नीति तथा कार्यक्रम अन्तरिम ल्याइएको भन्दै सरकारको आलोचना गरे।

त्यसमा उल्लेख गरिएको तीन तहको निर्वाचन तोकिएकै मितिमा गर्ने सरकारको प्रतिबद्धता माथि समेत सांसदहरुले प्रश्न उठाए।

उनीहरुले प्रधानमन्त्रीको राजीनामाले दोस्रो चरणको निर्वाचन अन्यौलमा परेको भन्दै आलोचना गरेका थिए।

जसको जवाफ दिंदै कामचलाउ प्रधानमन्त्री प्रचण्डले भने, "दोस्रो चरणको निर्वाचनमा बारेमा कतिपय सांसदहरुले अन्यौल जस्तो भन्नु भएको छ, अन्यौल हैन स्थिति स्पष्ट भएको छ। दोस्रो चरणको निर्वाचन हुन्छ। दुनियाँको कसैले पनि यो निर्वाचन रोक्न र अन्यौल बनाउन सक्दैन - म त्यो विश्वास तपाईहरुको अगाडी व्यक्त गर्छु।"

सरकारका तर्फबाट भईरहेका प्रयासबारे सांसदहरुलाई जानकारी गराउदै उनले भने, "जब राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनका बारेमा हाम्रो केही पनि भएन भनेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि पनि म त्यही मेहेनतमा प्रतिपक्षसहित सबै दलललाई विश्वासमा लिने कोसिसमा लागि रहेको छु।"

नीति तथा कार्यक्रम विभिन्न मन्त्रालयहरुबाट प्राप्त विवरण सहितको परम्परागत रुपले तयार पारिएको भए पनि आफूले त्यसलाई अस्वीकार गरेर संक्षिप्त र सबैको भावना समेटने गरी ल्याएको प्रधानमन्त्रीको भनाई थियो।

जस्तो तयार पारिएको त्यस्तै प्रस्तुत गरिएको भए संसदमा "झगडाको स्थिति" सृजना हुने उनले बताए।

पारित

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कामचलाउ नभएको र देशको आवश्यकता अनुकुलको सहि कार्यक्रम सहितको भएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो।

शनिवार र आईतवार केही समय भएको छलफलमा तीन जना संशोधनकर्ता सांसदहरु सहित २३ जनाले भाग लिएको संसद सचिवालयले जनाएको छ।

परेका संशोधन प्रस्तावहरुलाई अस्वीकृत गर्दै आईतवार नै नीति तथा कार्यक्रम संसदले पारित गरेको छ।

प्रधानमन्त्रीको जवाफपछि सरकारलाई आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। सरकारले सोमबार संसदमा बजेट प्रस्तुत गर्दैछ।