दोस्रो चरणको चुनाव ‘एक हप्ता पर सारिने’

  • 29 मे 2017
बैठक तस्वीर कपीराइट PMO

प्रमुख दलहरुले आगामी जेष्ठ ३१ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको चुनाव कम्तीमा एक साताका लागि पर सार्ने तयारी गरेका छन्।

आइतबार साँझ प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, प्रमुख विपक्षी नेकपा एमाले र तराई केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालका शीर्षस्थ नेताबीच यस विषयमा समझदारी भएको बताइएको छ।

त्यसबारे प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले निर्णय लिने सहमति शीर्षस्थ नेताले गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताए।

तराई केन्द्रित मोर्चाका एकजना शीर्षस्थ नेताले कुराकानी सकारात्मक भएको र त्यसै अनुसार काम पनि भए आफ्नो दल चुनावमा भाग लिने प्रतिक्रिया दिएका छन्।

समझदारी

६ वटा तराई केन्द्रित दलहरुको एकीकरणपछि हालै गठन भएको राष्ट्रिय जनता पार्टी नेपालले जेष्ठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको चुनाव बिथोल्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि चार दलका शीर्षस्थ नेताको बैठक बसेको थियो।

उक्त छलफलमा निर्वाचन आयोग र मौसमविद्हरुसँग प्रधानमन्त्रीले सल्लाह गरी एक साताका लागि दोस्रो चरणको चुनाव सार्ने समझदारी भएको नेता श्रेष्ठले बताए।

चारवटा प्रदेशका ४ सय ६१ वटा स्थानीय तहको चुनाव आगामी जेष्ठ ३१ गतेका लागि तोकिएको छ।

श्रेष्ठ भन्छन्, "राष्ट्रिय जनता पार्टी नेपालले अझै पनि चुनावमा आउने स्पष्ट प्रतिबद्धता जनाइसकेको छैन तर चुनावको वातावरण बनाउने थप प्रयास गर्न यो निर्णय लिइएको हो, अहिलेको निर्वाचन ऐनमा मनोनयन दर्ता हुनुभन्दा १५ दिनअघि नै पार्टीको तर्फबाट उम्मेदवारीका निम्ति एउटा आधिकारिक हस्ताक्षर बुझाउनुपर्ने भन्ने छ, अहिलेसम्म उहाँहरुले दिनुभएको पनि रहेनछ। त्यही भएर द्रुत प्रकियाबाट उक्त कानुन पनि संशोधन गर्ने भन्ने समझदारी भएको छ।"

निर्वाचन ऐनको संशोधन र मिति सार्ने निर्णयले आन्दोलनरत उक्त दललाई चुनावमा सहभागी हुन आउने वातावरण बन्ने अपेक्षासाथ पछिल्लो निर्णय गरिएको श्रेष्ठले बताए।

पछिल्लो समझदारी सरकारले त्यसका लागि निर्वाचन ऐन संसोधनका लागि आवश्यक विधेयक सोमबार संसद्‍मा दर्ता गराउने बताइएको छ।

तयार

राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पनि आइतबारको छलफल सकारात्मक भएपनि आफ्ना सबै माग एकमुष्ट रुपमा पूरा गरिनुपर्ने अडान राखेका छन्।

स्थानीय तहको संख्या र सीमा बढाउने निर्णय रोक्न अदालतले दिएको आदेश खारेजीको प्रक्रिया अघि बढाइनुपर्ने, मुद्दाहरु फिर्ता लिइनुपर्ने, संविधान संशोधनको विषयमा पनि एउटा टुंगोमा पुग्नुपर्ने उक्त दलको अध्यक्षमण्डलका एकजना नेता राजेन्द्र महतोले बताए।

उनले बीबीसीसँग भने, "पहिला पनि एक महिना समय बढाएर हामीलाई चुनावमा ल्याउन प्रयास गर्ने भनियो तर चुनावको वातवरण बनाउन केही पनि काम गरिएन, यसपालि वातवरण बन्छ भने हामी चुनावमा जान तयार छौँ।"

उनी थप्छन्, "आइतबार कुराकानी सकारात्मक भएको छ तर त्यस अनुसार काम पनि हुनुपर्यो, काम भयो भने चुनाव पनि हुन्छ र हामी त्यसमा सहभागी पनि हुन्छौँ।"

आइतबारको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेका शीर्षस्थ नेताले दोस्रो चरणपछि संविधान संशोधनको विषय टुंग्याउन सकिने धारणा राखेको नेता महतोले जानकारी दिए।

त्यसमा आफूले उक्त विषयमा अहिले नै सहमति गर्दा सहजतापूर्वक चुनावको वातावरण बन्ने जवाफ दिएको उनले जनाए।