माक्रों र पुटिनबीच पहिलो भेटघाट

  • 29 मे 2017
पुटिन र माक्रों तस्वीर कपीराइट Reuters

सिरिया र युक्रेनमा जारी द्वन्द्वलाई लिएर बढेको तनावबीच प्यारिसमा फ्रान्सेली र रुसी राष्ट्रपतीले भेटघाट गरेका छन्।

माक्रोंले पत्रकार सम्मेलनमा बोल्दै आफूले सिरिया र आतंकवादविरुद्धको संघर्षमा रुससँग मिलेर काम गर्न चाहेको बताए। पुटिनले चाहिँ आफूले फ्रान्ससँगको आर्थिक सम्बन्ध सुदृढ गर्न चाहेको बताए।

उनिहरु प्यारिस नजिकै रहेको भव्य भर्साइको दरबारमा भेटेका छन्।

भेटअघि प्यारिसबाट बीबीसीकी लुसी विलियमसनले सो भेटघाट असहज हुनसक्ने उल्लेख गरिन्।

मध्यपुर्वमा फ्रान्सले सिरियाली राष्ट्रपति बशर अल-असदको विपक्षमा रहेका सुन्नी अरब र कुर्द विद्रोहीलाई समर्थन गरेको छ भने असदलाई रुस र इरानले सैनिक सहायता गरिरहेका छन्।

र हालै माक्रोंको चुनावी अभियान टोलीले रुसी अधिकारिहरुलाई आफू विरुद्ध साइबर आक्रमण गरेको आरोप लगाएको थियो।

मतभेदहरु

सिसिलीमा भएको जी-सेभेनको शिखर सम्मेलनमा माक्रोंले रुससंग वार्ता गर्नु अत्यावश्यक भएको बताएका थिए।

फ्रान्सले युक्रेनमा रुसी हस्तक्षेपका विरुद्ध कडा प्रतिकृया दिंदै आएको छ।

रुसले सन् २०१४ मा क्राइमियलाई आफूमा मिलाएपछि लागू गरिएका पश्चिमा मुलुकका प्रतिबन्धहरु पछिल्ला द्वन्द्वपछि बढाइएका छन्।

फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा पुटिनले माक्रोंकी राष्ट्रवादी प्रतिद्वन्द्वी मरीन ल पेनलाई समर्थन गरेजस्तो देखिएको थियो।

लेपेनको पार्टीले रुसी वा रुससंग सम्बन्धित ब्यांकहरुबाट थुप्रै ऋण लिएको छ।

परीक्षा

यसै महिना राष्ट्रपति बन्नु अघि माक्रोंले रुसलाई सैनिक धाकधम्की र सूचनाको युद्धको रणनीति अपनाएको आरोप लगाएका थिए।

भर्साइमा रुसी जर पीटर महान सम्बन्धी एउटा प्रदर्शनी शुरु हुन लागेकाले माक्रों र पुटिनको भेटघाट त्यहाँ आयोजना गरिएको हो।

पिटरले ३०० वर्ष अघि प्यारिसको र अन्य युरोपेली देशको भ्रमण गरेका थिए जसले उनको कार्यकाललाई धेरै हदसम्म प्रभावित गरेको थियो।

सिसिलीमा जी-सेभेनको र ब्रसल्समा नेटोको शिखर सम्मेलन यो भेटघाट फ्रान्सेली राष्ट्रपति माक्रोंको नयाँ कूटनीतिक परीक्षा हो।