भारतमा जिका भाइरस

  • 30 मे 2017
लामखुट्टे तस्वीर कपीराइट SPA

भारतको स्वास्थ्य मन्त्रालयले पश्चिमी राज्य गुजरातको अहमदाबाद नगरमा जिका भाइरसका तीन जना बिरामी भेटेको पुष्टि गरेको शुक्रबार विश्व स्वास्थ्य संगठनले बताएको छ।

एउटा व्यस्त क्षेत्रमा सन् २०१६ को नोभेम्बर र सन् २०१७ को फेब्रुअरीको बीचमा ती बिरामी भेटिएको अधिकारीहरुले बताएका छन्।

त्यो संक्रमणलाई झण्डै ३० देशमा शिशु जन्मदाँ देखिने खराबीसँग जोडिएको छ।

त्यस अन्तर्गत एउटा खराबी 'माइक्रोसेफली' हो जसमा शिशुको टाउको अत्यन्त सानो हुन्छ र मस्तिष्कको विकास सीमित हुन्छ।

जिका भाइरसलाई लामखुट्टेले सार्ने भएतापनि यौन सम्पर्कद्वारा पनि सर्न सक्छ।

उल्लेख

नाइजेरियामा पहिलोपटक जिका भाइरस आधिकारिक रुपमा पहिचान हुनुअघि नै सन् १९५३ मा प्रकाशित एउटा प्रतिवेदनमा अनुसन्धानकर्ताहरुले भारतमा थुप्रै मानिसमा त्यो भाइरस देखिएको बताएका थिए।

६० वर्ष भन्दा बढी समयपछि संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी निकायको वक्तव्यमा उल्लेख गरिएका तीन बिरामीमध्ये २२ र ३४ वर्षिया दुई महिला र ६४ वर्षे एक पुरुष छन्।

प्रतिवेदनका अनुसार ती तीनजना मध्ये कसैले पनि देशबाहिर यात्रा गरेका थिएनन्।

ती दुई गर्भवती महिलाले बच्चा जन्माएको र ६४ वर्षीय पुरुषको स्वास्थ्यमा कुनै जटीलता नदेखिएको गुजरातका वरिष्ठतम अधिकारी जे एन सिंहले पत्रकारहरुलाई बताएका छन्।

चिन्ता

बिरामीको संख्या नबढेको हुनाले सरकारले तिनीहरुबारे सार्वजनिक नगरेको उनले बताएका छन्।

तर ती मानिसमा जिका भाइरस देखिने बित्तिकै किन जनतालाई भनिएन भनेर स्वतन्त्र जनस्वास्थ्यकर्मी र विश्लेषकहरु स्तब्ध र चिन्तित छन्।

भारतमा ठूलो समस्या रहेको डेंगी र चिकनगुनियाको संक्रमण गराउने लामखुट्टेको जातले नै जिका भाइरसको पनि संक्रमण गराउने हुनाले सो रोग देखा परेको महिनौंसम्म पनि सरकार चुप हुँदा धेरैले आश्चर्य व्यक्त गरेका छन्।

भारतको सरकारले डेंगी र चिकनगुनियाबारे जनतालाई नियमित रुपमा खबर दिने गर्दछ।

अडान

भारतमा जिका भाइरसको सामना गर्ने जनस्वास्थ्य प्रक्रिया स्थापित देखिएको छः अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेजाने यात्रुमाथि निगरानी राखिन्छ र जिका, डेंगु र चिकनगुनियाको एकैसाथ परीक्षण गर्ने उपकरण धेरै ठाउँमा प्रयोग गरिन्छ।

तर पनि जिका भाइरस देखिएको घटनालाई सरकारले स्थानीय अधिकारीहरुबाट समेत गोप्य राखेको थियो।

सरकारले त्यही समयमा औंलो नियन्त्रण गर्ने भन्दै अहमदाबादमा निगरानी बढाएको तर जिकाको भने उल्लेख नगरेको एकजना स्थानीय स्वास्थ्यकर्मी बताउँछन्।

जिका भाइरसबारे आफूलाई केही नबताइएकोमा स्थानीयवासी रुष्ट भएको त्यहाँ पुगेका एकजना पत्रकारले बताएका छन्।

तर जिका भाइरसका बिरामीको संख्यामा वृद्धि नभएकाले त्यसका बारेमा सार्वजनिक घोषणा गर्ने आवश्यकता नदेखेको भन्दै सरकार आफ्नो अडानमा कायम छ।