ह्वाइट हाउसका सञ्चारप्रमुखको राजीनामा

  • 30 मे 2017
माइक डब्की तस्वीर कपीराइट Black Rock Group

तीन महिनाको कार्यकालपछि ह्वाइट हाउसका सञ्चार प्रमुख माइक डब्कीले यसै महिना केही समयअघि राजीनामा दिएको बताइएको छ।

रिपब्लिकन पार्टीका अनुभवी रणनीतिकार माइक डब्कीलाई ह्वाइट हाउसको सञ्चार रणनीतिमा सुधार गर्नका लागि गत मार्च महिनामा नियुक्त गरिएको थियो।

डब्कीले यसै मे महिनाको १८ तारिखमा राजीनामा दिएको र सौहार्द्र वातावरणमा पद छोड्न लागेको एक्सियोस न्युज नामक वेबसाइटले बताएको छ।

राष्ट्रपति ट्रम्प मध्यपूर्व र युरोपको भ्रमणबाट नफर्किएसम्म डब्की पदमा रहने ह्वाइट हाउसकी सल्लाहकार केलीएन कनवेले बताएकी छिन्।

रिपब्लिकन विज्ञापन कम्पनी क्रसरोड्स मिडियाका वरिष्ठ साझेदार डब्की ट्रम्पको चुनावी टोलीमा थिएनन् र ट्रम्पप्रति वफादार मानिँदैनन्।

परिवर्तनहरु

ह्वाइट हाउसमा हुने विभिन्न परिवर्तन अन्तर्गत प्रेस सचिव शन स्पाइसर आफ्नो पदमा कायम रहनेछन्, तर पत्रकार सम्मेलनहरु भने कम गरिनेछन्।

ह्वाइट हाउसको सञ्चार टोलीमा अस्तव्यस्तताका खबर पछि त्यस्ता परिवर्तन गर्न लागिएका हुन्।

ट्रम्पको चुनावी टोलीले ट्रम्पलाई चुनाव जिताउनका लागि क्रेमलिनसंग सहकार्य गरेको थियो कि थिएन भन्ने विषयमा संसद र गुप्तचर निकाय एफबीआइले छानबिन गरिरहँदा ट्रम्प ह्वाइट हाउसको सञ्चार प्रणालीसंग दिक्क भएको बताइन्छ।

हालसालै उनले दिनदिनै गरिने पत्रकार सम्मेलन हटाएर आफैंले दुई हप्तामा एकपटक पत्रकार सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेका थिए।

एक्सियोसका अनुसार ट्रम्पले पत्रकारहरुको प्रश्नको प्रत्यक्ष जवाफ दिएर त्यो योजना कार्यान्वयन गर्ने वाला छन्।

सम्भावना

ह्वाइट हाउसले उनको स्थानमा कसलाई नियुक्त गर्ने हो त्यो बताएको छैन।

तर ट्रम्पका भूतपूर्व अभियान सञ्चालक कोरी लेवाण्डौस्कीलाई सोमबार ह्वाइट हाउसबाट निस्किँदै गरेको देखिएपछि उनी त्यो पदमा नियुक्त गरिने धेरैले अड्कल गरेका छन्।

लेवाण्डौस्की चाँडै प्रशासनिक पदमा नियुक्त गरिने र उनले ट्रम्प रुससंग निकट छन् भन्ने आरोपको सामना गर्ने टोलीको नेतृत्व गर्ने ठानिएको छ।

त्यो आरोपका सामना गर्नका लागि थप वकीलहरु नियुक्त गर्न सकिने बताइएको छ।