'सहमतिको सरकारका लागि प्रयास जारी राखिने'

  • 30 मे 2017
Image caption सत्तारुढ दलहरुले सहमतिको सरकार गठन गर्ने प्रयास जारी राख्‍ने जनाएका छन्

सतारुढ दलहरुले राष्ट्रपतिले दिएको बुधबारसम्म दिएको अन्तिम समय सीमासम्म पनि सहमतिको सरकार गठनका लागि प्रयास जारी राख्ने निष्कर्ष निकालेका छन्।

संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले मंगलबार बोलाएको सर्वदलीय बैठकमा त्यस्तो निष्कर्ष निकालिएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएपनि सहमतिका लागि उसँग छुट्टै छलफल गरिने बताइएको छ।

एमालेले भने सरकारको नेतृत्वलाई खुल्ला राखेर हुने छलफलमा मात्रै भाग लिने जनाएको छ।

र्वदलीय बैठक

सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिन एक दिनमात्रै बाँकी रहँदा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको थियो।

तर उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन।

एमाले बाहेकका दलहरुबीच भएको छलफलमा सहमतीय सरकार गठनको सम्भावना बाँकी रहेको निष्कर्ष निकालिएको बैठकका एकजना सहभागी माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले बताए।

उनले भने, "संक्रमणकालिन अवस्थामा सबै राजनीतिक दलहरु मिलेर सहमति बनाउने र अन्तिम समयसम्म राष्ट्रिय सरकार बनाउनका लागि प्रयास गर्ने भन्ने सबै पार्टीका नेताहरुको भनाइ रह्यो।"

माओवादी केन्द्र र नेपाली काँग्रेसकाबीचमा भएको भनिएको सहमति अनुरुप काँग्रेसलाई नेतृत्व दिनेमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष समेत रहेका कामचलाउ प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता पुन: दोहराएको बताइएको छ।

सहमति

तर सहमतिको प्रयास भने जारी राख्नु पर्ने धारणा उनले राखेको नेताहरुले बताएका छन्।

मंगलवारको बैठकमा सहभागी नभएको एमालेसँग छलफल गर्ने जिम्मा काँग्रेस सभापति शेरबहादुर देउवाले नै लिएको बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले बताए।

उनले भने, "एमालेका अध्यक्षसँग कुरा गर्छु भनेर आजको बैठकमा भन्नुभएको छ। एमाललेलाई के अप्ठ्यारो परेको हो भन्ने बारेमा त्यही कुरा हुन्छ।"

सहमतिको सरकारको आवश्यकता रहेको बताउने प्रमुख प्रतिपक्षी एमाले भने कांग्रेसको नेतृत्वमा सहमतिको सरकार स्वीकार्ने मनस्थितिमा देखिएको छैन।

नेतृत्व

मंगलबार बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको भन्ने आसयका साथ डाकिएको भन्दै एमाले सहभागी भएन।

सरकारको नेतृत्वको विषय खुल्ला राखेर मात्रै सहमतिको प्रयास गरिनुपर्ने एमाले महासचिव ईश्वर पोख्ररेलले बताए।

बीबीसीसँग कुरा गर्दै उनले भने, "जुन दल र नेताको नेतृत्वमा जाने भनेर सबै दलकाबीचमा सहमति हुन्छ त्यसैलाई केन्द्र गरेर सहमतिको सरकारमा जान सकिन्छ, तर पहिले नै तोकिएको नेतृत्वमा खोजिने सहमतिको छलफल गर्न जाने पक्षमा हामी छैनौं।"

संवैधानिक व्यवस्था अनुरुप राष्ट्रपतिले आह्वान गरेको सहमतीय सरकारको प्रयासमा लागेका जस्ता देखिएका सत्तारुढ दलहरु भित्रभित्रै हालकै गठबन्धन अनुरुप बहमतीय सरकार बनाउने योजनामा समेत लागेको धेरै ठान्छन्।

सरकारमा एमाले आउने सम्भावना एकदमै न्यून रहेको भन्दै सत्तासीन दलहरुले आफ्नो भागमा पर्ने मन्त्रालय र त्यसमा सहभागी हुने मन्त्रीहरुको छनोटको गृहकार्य समेत गरिरहेको बताइएको छ।