दोस्रो चरणको मतदान अब असार १४ मा

  • 31 मे 2017
मन्त्रिपरिषद

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको दोस्रो चरणको मतदानको मिति असार १४ गतेका निम्ति तोकेको सरकारका एकजना मन्त्रीले जनाएका छन्।

यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकले तराई केन्द्रित दलहरुलाई मनाउने उद्देश्यले जेठ ३१ का निम्ति तोकिएको मतदान असार ९ गतेलाई सारेको थियो।

तर उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजान महिनाको आखिरी शुक्रबार परेकाले त्यसलाई पुन: सारिएको रक्षामन्त्री बालकृष्ण खाँणले बीबीसीलाई बताए।

उक्त नयाँ मितिबारे निर्वाचन आयोगसंग अनौपचारिक कुराकानी भइसकेको उनले बताए।

संशोधन

"विशेषगरि मुसलमानहरुको पर्व परेको अनि तराई केन्द्रित राष्ट्रिय जनता पार्टिलाई पनि चुनावमा सामेल हुन सहज होस् भनेर यो मिति सारिएको छ। अब फेरि सर्दैन," खाँणले बताए।

उनले चुनावमा भाग लिन चाहने दललाई सहज बनाउने हिसाबले निर्वाचनसम्बन्धी कानूनमा संशोधन गर्न लागिएको बताए।

पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते मतदान भइसकेको छ।

प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको मतदान हुनेछ।

यी प्रदेशमा तराईका जिल्ला समेटिएका छन्।