काबुलमा शक्तिशाली कार बम हमला

  • 31 मे 2017
बिहान

अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक नियोगहरु रहेको क्षेत्रमा एउटा आत्मघाती कार बम विस्फोट गराइँदा कम्तिमा ८० मानिस मारिएका र ३५० भन्दा बढी घाइते भएको बताइएको छ।

बिहानको व्यस्त समयमा जर्मन दूतावास नजिकै विस्फोट गराइएको थियो।

एम्बुलेन्सहरुले घाइतेहरुलाई अस्पताल पुर्याइरहेका छन्।

काबुलको आकाशमा ठूलो मात्रा धुवाँको मुस्लो देखिएको थियो।

क्षति

सयौं मिटर टाढाका घरहरुमा पनि विस्फोटका कारण क्षति पुगेको छ।

झ्यालका सिसाहरु फुटेको र ढोकाहरु उछिट्टएको बताइएको छ।

बीबीसीका एकजना संवाददाताका अनुसार सो क्षेत्रलाई सुरक्षाकर्मीले अहिले घेरा हालेका छन्।

हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

सुरक्षा प्रश्न

विस्फोट जर्मन दूतावास नजिकै गरिएतापनि आक्रमणको खास निशाना थाहा नभएको एकजना प्रहरी प्रवक्ताले बताएका छन्।

त्यो क्षेत्रमा राष्ट्रपति निवास लगायत थुप्रैवटा महत्वपुर्ण भवन रहेका छन्।

केहीले त्यो बम एउटा लरी वा पानीको ट्यांकर भित्र रहेको बताएका छन् भने एकजना कूटनीतिक श्रोतले त्यसमा १५ सय किलो भन्दा बढी विस्फोटक पदार्थ भएको एएफपी समाचार संस्थालाई बताएका छन्।

तीन मिटर अग्ला पर्खालहरु रहेको त्यस्तो सुरक्षित स्थलमा कसरी त्यो लरी छिर्यो भनेर सोध्न थालिएको बीबीसीका हरुन नजाफिजादा बताउँछन्।

भर्त्स्ना

अफगान राष्ट्रपति अशरफ गनीले उनकै शब्दमा रमजानको पवित्र महिनामा निर्दोष सर्वसाधारणलाई लक्षित गर्दै गरिएको सो कायरतापूर्ण आक्रमणको कडा भर्त्सना गरेका छन्।

हमलाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन तर तालेवान र इस्लामिक स्टेटमाथि शंका गरिएको छ।

तालेवनले आफू संलग्न नभएको भन्दै तुरुन्तै वक्तव्य जारी गरेको छ।

प्रवक्ता जबिहुल्ला मुजाहिदले सो समूहले त्यस्तो अन्धाधुन्ध आक्रमणको भर्त्सना गरेको बताएका छन्।

सेना लक्षित

तर गत महिना आफ्नो योजना बताउँदै गर्दा तालेवानले विदेशी सेना आफ्नो मुख्य निशाना हुने बताएको थियो।

अमेरिकका ८ हजार ४०० र नेटो साझेदारका ५ हजार सैनिक अफगानिस्तानमा छन्।

गत महिना उत्तरी शहर मजार-ए शरीफमाथि तालेवानले आक्रमण गर्दा १३५ सैनिक मारिएका थिए र रक्षा मन्त्री र सेनाका कर्मचारी प्रमुखले राजीनामा दिनु परेको थियो।

अफगानिस्तानको एक तिहाइ भन्दा बढी भाग सरकारको नियन्त्रण बाहिर गएको बताइन्छ।