चुनावको नयाँ कार्यक्रम सार्वजनिक

  • 31 मे 2017
Image caption यस अघि जेष्ठ ३१ गतेका लागि मतदानको मिति तोकिएको थियो

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय गरे संगै निर्वाचन आयोगले निर्वाचनको पुरानो तालिका परिवर्तन गरेको हो।

यस अघि जेष्ठ ३१ गतेका लागि मतदानको मिति तोकिएको थियो।

मिति सारेर निर्वाचनमा ल्याउन खोजिएको राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठबन्धनले भने निर्वाचनमा सहभागी हुने वातावरण अझै बनिनसकेको भन्दै आन्दोलनको स्वरुप मात्रै परिवर्तन गर्ने निर्णय गरेको छ।

दोस्रो चरणको स्थानीय निर्वाचनमा तराई केन्द्रित केही दलहरु र संघीय गठबन्धनमा रहेका दलहरु सहभागी हुने वातावरण बनाउन भन्दै सरकारले निर्वाचनको मिति जेठ ३१ गते बाट असार ९ गते सार्ने निर्णय गरेको थियो।

रमजान

तर उक्त दिन मुसलमान समुदायको पर्व रमजानको महत्वपूर्ण दिन परेकाले विभिन्न समुदाय र दलहरुले मिति सार्न आग्रह गरेको भन्दै मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको मतदानको दिन थप ५ दिन पछाडी सार्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषदको उक्त निर्णयको औपचारिक जानकारी पाएपछि निर्वाचन आयोगले सरकारको निर्णय अनुसार नै यस अघिको निर्वाचन कार्यक्रमलाई परिवर्तन गरेको जनाएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, "सरकारको पत्र प्राप्त भैसके पछि आयोगले निर्वाचनको नयाँ कार्यक्रम स्वीकृत गरेको छ त्यो निर्वाचनको कार्यक्रम अनुसार असार २ गते मनोनयपत्र दर्ता गर्ने र असारको १४ गते मतदान हुने छ।"

यस अघि जेठ १९ गते उम्मेदवारी दर्ता गराउने र ३१ गते मतदान गराउने कार्यक्रम निर्वाचन आयोगले तोकेको थियो। निर्वाचन आयोगको नयाँ निर्वाचन तालिका अनुसार पहिले तोकिएका सबै कार्यक्रम १४ दिन पछि सरेका छन्।

निर्वाचन

प्रदेश नम्बर १, २, ५ र ७ नम्बर प्रदेशका ४३ जिल्लाका ४ सय ६१ वटा स्थानीय तहमा हुने दोस्रो चरणको निर्वाचनका कामहरु गर्नका लागि सबै जिल्ला र स्थानीय तहमा कार्यालय भने स्थापना भैसकेको प्रवक्ता शर्माले बताए।

उनले भने, "मुख्य निर्वाचन अधिकृतको कार्यालय जेठ ६ गते र निर्वाचन अधिकृतको कार्यालय १५ गते स्थापना भैसकेका छन्। ती कार्यालयहरु यथापत रुपमा संचालन हुन्छन्। "

निर्वाचनको मिति सारिएसँगै पहिले घोषणा गरेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय गठबन्धनले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेका छन्।

तर सरकारका तर्फबाट निर्वाचनमा जाने वातावरण बनाउने काम अझै सम्म नभएको उनीहरुको आरोप छ।

वातावरण

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बीबीसीसँग कुरा गर्दे भने, "सरकारले भरोसा गर्ने काम नै गर्न सकेन। उसले गर्नु पर्ने काम हामीले भनि सकेका छौं ती काम गरेन भने निर्वाचनको वातावरण बन्नै सक्दैन। "

जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने, तराई आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने, पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने अनि एकता भएको पार्टी दर्ता गरेर उक्त पार्टीकै चुनाव चिन्ह दिइनु पर्ने उनीहरुको माग छ।

यस्ता माग पुरा भए संविधान संशोधनको एजेन्डालाई निर्वाचन सम्म स्थगन गर्न सकिने राष्ट्रिय जनता पार्टी नेपालका कतिपय नेताहरुले बताएका छन्।