विश्व शान्ति सूची सार्वजनिक

  • 1 जुन 2017
शान्ति तस्वीर कपीराइट Science Photo Library

अष्ट्रेलियाको सिड्नीस्थित एक अनुसन्धान संस्थाका अनुसार सिरियामा युद्ध शुरुभए यता पहिलो पटक विश्वभर शान्तिको अवस्थामा थोरै मात्रामा सुधार भएको देखिएको छ।

तर संयुक्त राज्य अमेरिकामा सहिष्णुताको स्तर घटेको र आंतकवादको अभिलेख बढेको सो संस्थाको भनाइ छ।

सिरिया विश्वकै सबैभन्दा कम शान्तिपूर्ण राष्ट्रका रुपमा रहेको यो पाँचो पटक हो भने आइसल्याण्ड यस वर्ष पनि विश्वकै सबैभन्दा शान्त राष्ट्र रहन सफल भएको छ।

'इन्स्टीट्यूट फर इकोनोमिक्स एण्ड पीस' नामक उक्त संस्थाले विश्व शान्ति सूचकांक प्रकाशित गर्न लागेको यो दशौं वर्ष हो।

बढी शान्तिपूर्ण

सिड्नीस्थित उक्त संस्थाको अनुसन्धानका अनुसार गत वर्षको तुलनामा यो वर्ष विश्व शून्य दशमलब दुई आठ प्रतिशतले बढी शान्तिपूर्ण रह्यो।

यातना, हत्या लगायत राज्यपक्षबाट हुने हिंसामा कमी आउनु र हत्याको दर घट्नुको असर तथ्याङ्कमा पनि देखिएको छ।

अमेरिका र ब्रिटेनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएपछिको प्रभाव पनि अनुसन्धानको नतिजामा परेको छ।

शान्त युरोप

युरोपमा आतंकवादी गतिविधि बढेपनि समग्रमा सो महादेशनै पृथ्वीको सबैभन्दा शान्तिपूर्ण स्थान रहेको देखिएको छ।

आतंकवादी गतिविधिका कारण हत्याको संख्या हालसम्मकै उच्च भएका राष्ट्रको संख्या २३ पुगेको उक्त अनुसन्धानले देखाएको छ।

जसमध्ये डेनमार्क, स्वीडेन फ्रान्स र टर्की लगायतका राष्ट्र पर्दछन्।

अनुसन्धानकर्ताहरुका अनुसार द्वन्द्वका कारण विश्वभरको अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ।

उनीहरुले शान्तिपूर्ण अवस्थाको निर्माणका लागि अझ धेरै पैसा खर्च गर्न माग पनि गरेका छन्।

अशान्ति

सिरिया विश्वकै सबैभन्दा कम शान्तिपूर्ण राष्ट्र रहेको यो पाँचौं पटक हो।

गृह युद्ध शुरु हुनु अघि सिरिया सो सूचीमा ६५ औं स्थानमा थियो।

अफगानिस्तान, इराक, दक्षीण सुडान र यमन सबैभन्दा धेरै हिंसात्मक घटना हुने अन्य चार राष्ट्र हुन्।

सन् २००८ देखि पहिलो स्थान ओगट्दै आएको आइसल्याड यसवर्ष पनि विश्वकै सबैभन्दा शान्त राष्ट्र रहन सफल भएको छ।

सबैभन्दा शान्तीपुर्ण अरु चार देशहरु न्युजिल्याण्ड, पोर्चुगल, अस्ट्रिया र डेनमार्क देखिएका छन्।

आतंकवाद बढेको

उक्त अनुसन्धानले १० वर्षअघिको तुलनामा अहिले ६० प्रतिशत राष्ट्रहरुमा आतंकवादको दर बढेको पनि पुष्टि गरेको छ।

सो अनुसन्धानले गत महिना ब्रिटेनको म्यानचेष्टरमा भएको आतंकवादी हमलालाई समेटेको छैन।

युरोपमा लोकप्रियतावादको समर्थन बढ्नुसंग शान्तिको तह घट्नुका बीचमा सम्बन्ध देखिएको छ भने सम्पत्तिको असमानता बढ्दै गर्दा प्रेस स्वतन्त्रता र व्यक्तिको अधिकारको स्वीकृति पनि घटिरहेको सो अनुसन्धानले देखाएको छ।

परिसूचकहरु

कोलम्बियामा सरकार र सशस्त्र समूह फार्क बीच भएको युद्धविरामका कारण सूचीमा कोलम्बियाको स्थान सुधारिएको छ।

विशेषगरी आन्तरिक द्वन्दका कारण भएको मृत्युको संख्या घटेको छ।

तर त्यहाँ सानो सशस्त्र समूहले जारी राखेका क्रियाकलापका कारण कोलम्बिया अझै पनि केही पछि परेको छ।

अनुसन्धानकर्ताले मानव हत्याको दर, हतियारमाथि पुहुँचको सहजता, आतंकवादको प्रभाव र सशस्त्र फौजको संख्या जस्ता शान्तिका बहुमुखी परिसुचक प्रयोग गरेका थिए।