बहुमतीय सरकार गठनकालागि गृहकार्य

  • 1 जुन 2017
Image caption काँग्रेसले अरु दलहरुलाई पनि सरकारमा सहभागिताका लागि आग्रह गरेको बताइएको छ

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेसँगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यलाई अगाडि बढाएको छ।

माओवादी केन्द्र लगायत हाल सरकारमा रहेका दलहरु सहमत भइसकेको र थप दलहरुलाई पनि सहभागिताका लागि आग्रह गरिएको कांग्रेसका नेताहरुले बताएका छन्।

संसद सचिवालय प्रधानमन्त्री निर्वाचनको मतदान २१ गते गर्ने गरी कार्यतालिका बनाउने योजनामा रहेको बताइएको छ।

आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दिइएको ७ दिनको समय भित्र दलहरुका बीच सहमति बन्न नसके पछि बहुमतीय प्रकृया अघी बढाउन आह्वान गरेकी हुन।

सो आह्वानसँगै संसदको तत्काल कायम रहेको सदस्य संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको छ।

सहमतीय सरकार गठनका लागि दिइएको समयमा पनि आफ्नै नेतृत्वमा सहमतीय सरकार बनाउने प्रयास गरेको संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले बहुमतीय सरकारको नेतृत्व पनि आफैले गर्ने गरी छलफल शुरु गरेको जनाएको छ।

कांग्रेस नेता प्रकाशशरण महतले भने, "सरकार गठन अगाडि बढदै गर्दा हाम्रो कोसिस धेरै भन्दा धेरै दलको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई होस् भन्ने छ। त्यसै अनुरुप सबै दलहरुसँग सम्वाद जारी राखेका छौं।"

सहमति

हाल सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले समेत दुई दलबीचको पुरानै सहमति अनुरुप सरकार गठनमा नेपाली कांग्रेसलाई सघाउने जनाएको छ।

सत्ता गठबन्धनमा रहेका सबै दल नेपाली काँगेसको नेतृत्व स्वीकार्न तयार भएकाले बहुमतको लागि कुनै समस्या नरहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, "नेपाली कांगेस माओवादी केन्द्र, विजय गच्छेदारको नेपाल लोकतान्त्रीक फोरम र अरु साना पार्टीहरु नै बहुमतका लागि पर्याप्त छन्। त्यसमाथि राप्रपासँग समेत कुरा भै रहेको छ।"

सरकार बाहिर रहेका राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायतका दलहरुलाई पनि सरकारमा सहभागी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पहल गरिरहेको बताइएको छ।

उम्मेदवारी

कांग्रेस नेतृत्वको सरकारमा सहभागी नहुने जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने संकेत गरेको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, "सरकारको खेलमा हामी लाग्न चाहन्नौं। त्यस कारण यसबारेमा सोच विचार गरेका छैनौं। एमालेका तर्फबाट उम्मेदवारी दिने तर्फ सोचेकै छैनौं।"

संसद सचिवालयले शुक्रबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पछि प्रधानमन्त्री निर्वाचनको तालिका सार्वजनिक गरिने जनाएको छ।

सभामुख ओनसरी घर्तीले दोस्रो चरणको स्थानीय निर्वाचनको काममा जानु पर्ने भन्दै सांसदहरुले प्रधानमन्त्रीको चुनाव जति सक्यो छिटो सक्न भनेकाले २० गते उम्मेदवारी दर्ता गर्ने र २१ गते मतदान गर्ने योजनामा आफुहरु रहेको बताएकी छन्।