प्यारिस सम्झौताबाट अमेरिका अलग हुँदाका पाँच प्रभाव

  • 2 जुन 2017
तस्वीर कपीराइट Reuters

प्यारिस सम्झौताबाट अलग हुने अमेरिकी निर्णयले बाँकी विश्वका लागि के अर्थ राख्दछ? बीबीसीका वातावरण संवाददाता म्याट म्याकग्राको विश्लेषण:

१.अमेरिकी निर्णयले उक्त सम्झौता र विश्वलाई कमजोर बनाउँछ।

सम्झौताबाट अलग हुने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयले प्यारिस सम्झौताले निर्धारण गरेको तापक्रम वृद्धिको सीमालाई दुई डिग्री सेल्सियस भन्दा कममा राख्ने लक्ष्य पूरा गर्न थप कठिन बनाउनेछ। अमेरिका विश्वमा हुने कूल कार्बन उत्सर्जन मध्ये १५ प्रतिशत उत्सर्जनका लागि जिम्मेवार छ। उसले विकासशील देशहरुलाई तापमान वृद्धि विरुद्ध लड्न उल्लेख्य आर्थिक तथा प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ।

अमेरिकाले अलग हुने निर्णय गरेसँगै उसले नैतिक नेतृत्व त्यागेको भन्ने प्रश्न पनि खडा भएको छ जसले अन्य कुटनीतिक प्रयासहरुलाई पनि प्रभावित बनाउनेछ। एउटा अमेरिकी वातावारणवादीहरुको समूह द सियरा क्लबका माइकल ब्रुन भन्छन् प्यारिस सम्झौताबाट अलग हुने निर्णय एउटा ऐतिहासिक गल्ती हो र हाम्रा नाती नतीनाले भविष्यमा कसरी एक जना विश्व नेताले यथार्थ र नैतिकताबाट अलग भएर यस्तो अस्वाभाविक निर्णय गरे होलान् भनेर विस्मयकारी आश्चर्य व्यक्त गर्नेछन्।

.अमेरिकाको कठिनाई चीनका लागि अवसर?

प्यारिस सम्झौता कायम गर्नका लागि अमेरिका र चीनबीचको महत्वपूर्ण योगदान रहेको थियो। राष्ट्रपति ओबामा र राष्ट्रपति सी जिनपिङले साना टापु देश र युरोपेली संघसँग साझा समझदारी कायम गरि 'उच्च महत्वाकांक्षाको गठबन्धन' बनाएका थिए।

प्यारिस संझौताबाट बाहिरिने अमेरिकी घोषणा

चीनले प्यारिस सम्झौता प्रति तीव्र रुपमा आफ्नो पुर्नप्रतिबद्धता व्यक्त गरेको छ र उसले शुक्रबार युरोपेली संघसँग मिलेर कार्बन उत्सर्जन कटौतीका लागि थप साझेदारी गर्ने वाचा सहित एउटा संयुक्त वक्तव्य निकाल्दैछ।

तस्वीर कपीराइट Reuters

"कोही पनि पछाडी पर्नुहुँदैन तर इयु र चीनले अघि बढ्ने प्रतिबद्धता जनाएका छन्," जलवायू सम्बन्धी युरोपेली संघकी उच्चायुक्त मिगेल आरियस कन्याते भन्छन्। क्यानाडा र मेक्सिको पनि विश्वव्यापी तापमान वृद्धि विरुद्धको लडाईँमा अमेरिकी क्षेत्रबाट महत्वपूर्ण खेलाडीका रुपमा उदाउन सक्नेछन्।

३.विश्वका व्यापारिक नेताहरु निराश हुनेछन्।

प्यारिस सम्झौतामा संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहनुपर्छ भनेर सबैभन्दा दह्रो रुपमा आवाज उठाउने काम कर्पोरेट अमेरिका अर्थात त्यहाँको व्यापारिक समुदायले गरेको थियो। गुगल, एप्पल र सयौँ खनिज उत्पादन सहित कम्पनीहरु जस्तै एक्सोन मोबिलले राष्ट्रपति ट्रम्पलाई प्यारिस सम्झौतामा कायम रहिरहन भनेका थिए।

तस्वीर कपीराइट EPA

एक्सोन मोबिलका प्रमुख कार्यकारी ड्यारेन वुड्सले राष्ट्रपति ट्रम्पलाई व्यक्तिगत रुपमा पत्र लेख्दै उक्त सम्झौतामा नै रहेर अमेरिकाले प्रतिस्पर्धा गर्न सक्ने भन्दै त्यहाँ बसेर नै आफूलाई हित हुने गरि वार्ताहरु गर्नुपर्नेमा जोड दिएका थिए।

.कोइला पुन: फर्कन सक्दैन।

अमेरिकामा कार्बन उत्सर्जनका निम्ति मुख्य दोषी मानिने कोइलाको प्रयोगलाई क्रमश: हटाइंदै गएको उदाहरण अन्य देशहरुले पनि लागु गरिरहेका थिए। ब्रिटेनले बिजुली उत्पादनका लागि कोइलाको प्रयोगलाई सन् २०२५ सम्ममा अन्त्य गर्ने बताएको छ। अमेरिकामा नै कोइला उद्योगमा काम गर्ने श्रमिकको संख्या सौर्य उर्जा उद्योगमा काम गर्नेहरुको संख्या भन्दा आधा मात्रै छ।

तस्वीर कपीराइट Reuters

अझै पनि विकासशील देशहरु उर्जाको प्राथमिक श्रोतका रुपमा दशकौं सम्म कोइलामा नै निर्भर हुनुपर्ने अवस्था छ। तर वायुको गुणस्तर र प्रदुषण प्रति बढ्दै जाने जन आक्रोशले त्यसलाई एक हदसम्म नियन्त्रण गर्नेछ।

ट्रम्पको निर्णयको चर्को आलोचना

नवीकरणीय उर्जाका श्रोतहरुको घट्दो मूल्यले उदीयमान अर्थतन्त्रहरुलाई हरित उर्जातर्फ आकर्षित गरिरहेको छ। हालै भारतमा गरिएका लिलामीहरुमा सौर्य उर्जा प्लान्ट निर्माणको खर्च कोइलाबाट बिजूली उत्पादन गर्ने प्लान्टहरु भन्दा औसतमा १८ प्रतिशतले कम रहेको थियो।

५.ट्रम्पले अलग्याए पनि अमेरिकामा कार्बन उत्सर्जन कटौती भइरहनेछ।

प्यारिस सम्झौताबाट अलग हुने राष्ट्रपति ट्रम्पको निर्णय भए पनि अमेरिकामा कार्बनको उत्सर्जन घट्दै जानेछ। अहिलेसम्मका प्रक्षेपणमा राष्ट्रपति ओबामाले योजना बनाएभन्दा झण्डै झण्डै आधाले त्यस्तो उत्सर्जन कम हुने ठानिएको छ। किनभने अमेरिकामा हाल उर्जा उत्पादनको लागि कोइला भन्दा पनि ग्यासहरुको प्रयोग गर्ने गरिएको छ।

जमिनमुनिका चट्टानबाट खनिज तेल र ग्यास निकाल्ने आधुनिक फ्र्याकिङ विधिमा आएको क्रान्तिकारी परिवर्तनका कारण अमेरिकामा ग्यास उत्पादनमा उत्पात वृद्धि भएको छ र प्राकृतिक ग्यासको मूल्य घटेको छ। उर्जा उत्पादकहरुले ग्यासको प्रयोगलाई रुचाइरहेका छन् किनभने यो सजिलो छ र यो बढिरहेको नविकरणीय उर्जाका श्रोतहरुसँग पनि सजिलै एकिकृत हुन्छ।