प्रधानमन्त्रीको चुनाव आइतबार

  • 2 जुन 2017
संसद

विपक्षी नेकपा एमालेको तीव्र असन्तुष्टिमाझ संसद सचिवालयले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ।

भरतपुर मतगणना विवादलाई लिएर संसद अवरुद्ध पारिरहेको एमालेले प्रधानमन्त्री निर्वाचनको तालिका ल्याउने प्रक्रिया सूचना टाँसेर नभइ संसद बैठकबाटै हुनुपर्ने अडान राखेको थियो।

तर एमाले तथा दुई प्रमुख सत्तारुढ दलसँग शुक्रबार संयुक्त परामर्श गरेकी सभामुखको निर्देशनमा संसद सचिवालयले शनिबार मनोनयन दर्ता र आइतबार मतदान हुने गरी तालिका सार्वजनिक गरेको छ।

योजना

तालिका अनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

आइतबार बिहान ११ बजेपछि प्रधानमन्त्री चुन्न मतदान प्रारम्भ हुनेछ।

विपक्षी एमालेले संसद अवरोध कायमै राखेपछि सभामुख ओनसरी घर्तीले सूचना टाँसेरै भएपनि उक्त तालिका सार्वजनिक गर्न संसद सचिवालयलाई निर्देशन दिने बाटो रोजिन्।

उनले भनिन्, "राष्ट्रपतिले प्रधानमन्त्री चुन्नका लागि पठाएको पत्रको सम्मान गर्दै संविधान अनुसार प्रक्रिया प्रारम्भ गर्नु मेरो दायित्व हो। त्यसबाट म पछि हट्न मिल्दैन"।

असन्तुष्टि

विपक्षी एमालेले विगतमा सूचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन तालिका सार्वजनिक गर्ने नगरिएको भन्दै तीव्र असन्तुष्टि पोखेको छ।

सभामुखसहित तीन दलको संयुक्त बैठकमा सहभागी एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्, "प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने हो। त्यस्तो व्यक्ति चुन्दा संसद बैठकको प्रक्रियामा नगइ बाहिर सूचना टाँसेर प्रक्रिया थाल्ने अभ्यास अहिलेसम्म नभएको कुरा हो"।

भरतपुर महानगरपालिकाको मतगणना विवादलाई लिएर एमालेले बुधबार र बिहीबार संसद अवरुद्ध पारेपछि सभामुखले संसदको अर्को बैठक पर्सि आइतबारका लागि राखेकी थिइन् जुन, बहुमतीय प्रधानमन्त्री चयन गर्ने दिनका रुपमा पनि तोकियो।

निश्चित

प्रमुख दलहरु कांग्रेस र माओवादी केन्द्रबीच भएको भनिएको सम्झौता अनुसार अहिलेको सत्तारुढ गठवन्धनका साझा उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवा बन्ने निश्चितप्राय: जस्तै देखिन्छ।

कांग्रेस नेता पूर्णबहादुर खड्का भन्छन्, "शनिबार हाम्रो पार्टीको बैठक बसेर सभापति शेरबहादुर देउवाको उम्मेदवारीलाई औपचारिकता दिएर मनोनयन प्रक्रियामा जान्छौं"।

बहुमतीय सरकार गठनकालागि गृहकार्य

विपक्षी एमालेसहितको गठवन्धनले भने प्रधानमन्त्री निर्वाचनमा कस्तो रणनीति अपनाउँछ, त्यो अझै अस्पष्ट छ।

भरतपुर घटनामा आफूले माग गरेजस्तो कदम निर्वाचन आयोगले नचाले संसद अवरोध कायमै राख्ने मनस्थितिमा रहेको एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा वाधा उत्पन्न गराउँछ वा गराउँदैन भन्नेबारे यकीन भइसकेको छैन।

तथापि एमालेका कतिपय नेताहरुले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गर्ने भन्दै सार्वजनिक टिप्पणी गरेका छन्।