महानिर्देशक शर्मा अख्तियारको हिरासतमा

  • 2 जुन 2017
आयोग तस्वीर कपीराइट ciaa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व हिनामिना गरेको आरोपका सम्बन्धमा अनुसन्धान अघि बढाउन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई हिरासतमा लिइएको बताएको छ।

महानिर्देशक शर्मालाई उनकै कार्यालयबाट शुक्रबार दिउँसो अनुसन्धानका लागि हिरासतमा लिएको र अनुसन्धानको प्रक्रिया जारी रहेको आयोगका एक पदाधिकारीले बताएका छन्।

आयोगका सहप्रवक्ता खगेन्द्र रिजालले भने, "आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले सरकारी राजश्व हिनामिना गरेको भन्ने विषयमा छानबिन हुँदा त्यो विषय अलि गम्भीर देखिएकोले अनुसन्धानमा वाधा अवरोध सिर्जना गर्न सक्ने आशंकामा उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।"

हिनामिना

करिब दुई वर्षअघि सरकारले असुल गर्न बाँकी कर फछर्योट गर्नका लागि फछर्योट आयोग गठन गरेको थियो।

त्यसमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा सदस्य सचिवको रुपमा कार्यरत थिए।

तस्वीर कपीराइट IRD
Image caption आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मामाथि कर फर्छ्योटमा अनियमितता गरेको आरोप लागेको छ।

कर फछर्योट आयोगले कर फर्छ्योट कार्यमा अनियमितता गरेको भन्ने विवरणहरु विभिन्न सञ्चार माध्यम मार्फत चर्चामा आएपछि उनलाई अनुसन्धानका लागि हिरासतमा लिएको अख्तियारका सहप्रवक्ता रिजाल बताए।

उनले भने, "अनुसन्धान प्रारम्भिक चरणमै छ, अलि अगाडि महालेखा परीक्षकको प्रतिवेदनमा र सञ्चार माध्यममा पनि यी विषय आएका थिए र यी विषयलाई अनुसन्धानको आधारको रुपमा लिइएको छ।"

प्रारम्भिक चरण

महालेखा परिक्षकको कार्यालयले समेत कर फछर्योट आयोगको काम कारबाहीका विषयमा केहि समय यता प्रश्न उठाउँदै आएको थियो।

महालेखा परीक्षकको कार्यालयका एक अधिकारीका अनुसार आयोगमा करिब १ हजार ७ सय निवेदन परेका थिए।

जसमध्ये झन्डै १ हजार उजुरी माथि कारबाही गरी कर बक्यौता मिनाहा दिने निर्णय आयोगले गरेको थियो।

काठमान्डूका प्रमुख जिल्ला अधिकारी रहिसकेका शर्मा आन्तरिक राजश्व विभागको महानिर्देशक हुनुअघि सम्पति शुद्धिकरण अनुसन्धान विभागका प्रमुख थिए।

अख्तियार आयोगका एक श्रोतका अनुसार कर फछर्योट आयोगको काम कार्वाही बारे आयोगले केहि महिनाअघि देखिनै सामान्य अनुसन्धान शुरु गरेको थियो।

दीप बस्न्यात अख्तियारका प्रमुख आयुक्तमा नियुक्त भएपछि उच्च ओहोदाका व्यक्ति अनुसन्धानका लागि पक्राउ परेको यो पहिलो पटक हो।