उत्तर कोरियाविरुद्ध राष्ट्रसंघका थप प्रतिबन्ध

  • 3 जुन 2017
नेता तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्योङयाङको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा बढ्दो तनावका माझ उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाएको छ।

सुरक्षा परिषद्ले पछिल्लो पटक उत्तर कोरियाका चारवटा कम्पनी र १४ जना अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको हो।

प्रतिबन्धमा पर्नेहरुमा उत्तर कोरिया बाहिर जासुसी गर्ने निकायका प्रमुख पनि छन्।

अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिबन्ध र सम्पत्ति रोका गर्नेसहितको अमेरिका र चीनको प्रस्ताव सुरक्षा परिषद्ले सर्वसम्मतिले अनुमोदन गरेको थियो।

अवज्ञा

हप्तौंदेखिको वार्तापछि चीन र अमेरिकाले त्यसबारे सहमति गरेका थिए।

पारमाणविक र क्षेप्यास्त्र परीक्षणमाथि राष्ट्रसंघीय प्रतिबन्धको उत्तर कोरिया अवज्ञा गर्दै आएको छ।

पछिल्लो प्रतिबन्धलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले शुक्रबार अनुमोदन गरेका छन्।

प्रतिबन्धमा पर्ने अन्यमा उत्तर कोरियाको वर्कर्स पार्टीका वरिष्ठ सदस्यहरु तथा प्योङयाङको सैनिक कार्यक्रमलाई आर्थिक सहयोग गर्ने व्यापारिक निकायका प्रमुख छन्।

रणनीतिक

उत्तर कोरियाको रणनीतिक रकेट बल, कोर्यो ब्यांक र अन्य दुई निकाय पनि प्रतिबन्धको सूचीमा समेटिएका छन्।

कोर्यो ब्यांक वर्कर्स पार्टी कार्यालयसँग जोडिएको छ जुन ब्यांकले नेता किम जङ अनसहित उच्च नेताहरुको आर्थिक व्यवस्थापन गर्दछ।

प्योङयाङले यो वर्ष अनपेक्षित गतिमा क्षेप्यास्त्र परीक्षण गरिरहेको छ।

उसले आफ्ना कार्यक्रमहरु प्रतिरक्षात्मक र अमेरिका आक्रामक कदमको जवाफ दिनेतर्फ लक्षित रहेको बताउँदै आएको छ।