प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवा

  • 3 जुन 2017
देउवा
Image caption प्रधानमन्त्री पदका लागि कांग्रेस सभापति देउवाको मात्र उम्मेदवारी परेको बताइएको छ

नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ।

दिउसो ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो।

संसद सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार एकजनाको मात्र उम्मेदवारी परेको भएपनि आइतबार मतदान प्रक्रियामा लगिनेछ।

प्रधानमन्त्री चयन हुन हस्ताक्षर सहितको बहुमत आवश्यक पर्ने हुनाले मतदान प्रक्रियामा जानुपर्ने उनले बताए।

प्रस्तावक/समर्थक

प्रधानमन्त्री चयन गर्ने निर्वाचनको मतदान आइतबार विहान ११ बजे शुरु हुने बताइएको छ।

देउवाको प्रस्तावक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन्।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदार प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेमबहादुर सिंह नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का देउवाका समर्थक बनेका छन्।

अहिले संसदमा ५९३ सदस्य छन्। त्यो संख्याको बहुमत अर्थात प्रधानमन्त्री चयन हुन देउवालाई २९७ मत आवश्यक पर्नेछ।

कांग्रेसका २०६, माओवादी केन्द्रका ८१ र गच्छेदारको पार्टीसँग १६ जम्मा हुने वित्तिकै उनको बहुमत पुग्ने स्थिति रहेकाले उनी प्रधानमन्त्री बन्न स्पष्ट बहुमत पुग्ने देखिन्छ।

कांग्रेस र माओवादीबीचको पूर्व सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले ११ दिन अघि जेठ १० गते राजीनामा दिएका थिए।