भरतपुरमा फेरि निर्वाचन: एमाले आक्रोशित

  • 3 जुन 2017
ओली
Image caption भरतपुरमा पुन निर्वाचन गराउने भन्ने निर्णयको कानुनी र राजनीतिक उपचार खोज्ने एमालेले बताएको छ

निर्वाचन आयोगले भरतपुरमा विवाद उत्पन्न भएको वडामा पुन: मतदान गराउने निर्णय शनिबार गरेपछि मुख्य विपक्षी एमाले रुष्ट बनेको छ।

आयोगको निर्णयपछि एमाले अध्यक्ष केपी ओलीले भरतपुर घटनालाई 'त्यसै नछोड्ने' बताएका छन्।

त्यसले शनिबार प्रधानमन्त्री पदमा एक्लो उम्मेदवार बनेका शेरबहादुर देउवा चयन गर्न आइतबार गर्ने भनिएको मतदान अन्योलमा परेको छ।

तर नेपाली कांग्रेसका नेताहरुले संवैधानिक निकायले दिएको निर्णय शिरोपर गर्नुको विकल्प नरहेको भन्दै आइतबारको प्रधानमन्त्री चयन प्रक्रिया सामान्य रुपमै अगाडि बढ्ने बताएका छन्।

'उपचार'

एमाले अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग भने, "यस कुरालाई यत्तिमै टुंगियो भन्ने सत्तापक्षले नसोचेपनि हुन्छ। यो निर्णय मान्य हुन सक्दैन। र यसको हामी विभिन्न ढंगले उपचार खोज्छौं।"

एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री चयनका लागि अगाडि बढेको प्रक्रिया नै 'गैरसंसदीय' भन्ने निष्कर्ष निकालेको छ।

उम्मेदवारी दर्ता गरेर ओली निवास बालकोट पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई ओलीको जवाफबारे एमाले नेता शंकर पोखरेलले भने, "संसद भनेको सत्तापक्ष मात्रै होइन। प्रतिपक्ष पनि हो। प्रतिपक्षलाई सम्पूर्ण रुपमा बेवास्ता गरेर संसदीय प्रक्रिया अगाडि बढ्न सक्दैन।"

पोखरेलले बाहिरबाट उम्मेदवारी प्रक्रिया अगाडि बढाएर एकलौटी रुपमा उम्मेदवारी दर्ता गर्ने काम भएकाले वास्तवमा प्रतिपक्षलाई त्यो विषयमा जानकारी नभएको बताए।

तर देउवा निकट एकजना सांसद एनपी सावदले आइतबारको चयन प्रक्रिया सामान्य रुपमै अगाडि बढ्ने बताए।

Image caption निर्वाचन आयोगले भरतपुरको विवाद उत्पन्न वडामा पुन निर्वाचन गर्ने निर्णय गरेको छ

उनले भने, "अवरोध गरिराख्यो भने पनि समाधान निकाल्नुपर्ने हुन्छ। र छलफल बाहेक समाधान निकाल्ने अर्को उपाय छैन।"

सत्तापक्ष र विपक्षबीच चर्किएको मतभेदले प्रधानमन्त्री चयन प्रक्रियालाई संकटमा पार्ला, नपार्ला आइतबार प्रष्ट हुनेछ।

तर मुलुकका जुनसुकै निकायमा भागवण्डा गर्ने दलगत प्रवृत्तिकै कारण संवैधानिक निकायले गर्ने निर्णयहरु प्रभावित हुने अवस्था आएको भन्दै कतिपय जानकारहरुले त्यसलाई दुर्भाग्यपूर्ण भनेका छन्।