भरतपुरको विवादित वडामा पुन: मतदान हुने

  • 3 जुन 2017
निर्वाचन आयोग

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको विवादित वडामा पुन: मतदान गर्ने निर्णय गरेको छ।

शनिबार बसेको आयोगको बैठकले वडा नम्बर १९ को मत गन्ने क्रममा मतगणनास्थलको अनधिकृत कब्जा भएको पुष्टि भएको भन्दै त्यस्तो निर्णय लिएको हो।

तर्क

आयोगको निर्णयमा भनिएको छ, "स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणनास्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्ध गर्ने"।

"सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान रद्ध गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुन: मतदान गराउने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने"।

बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको चुनाव अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ मा खसेको मत गन्ने क्रममा विवाद हुँदा जेठ १४ गते मध्यराति मतपत्र च्यातिएको थियो।

मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादी केन्द्रका दुई जना स्थानीय कार्यकर्तालाई पक्राउ गरेको थिए।

उनीहरु पछि अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए।

निर्वाचन आयोगले भरतपुर विवादबारे अनुगमन गर्न केन्द्रबाट टोली पठाएको थियो।

त्यसपछि निर्वाचन आयोगले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई गणनाका क्रममा च्यातिइ नोक्सान भएका मतपत्रको विवरण पठाउन भनेको थियो।

उक्त कार्यालयले ९० वटा मतपत्र च्यातिइएको विवरण आयोगमा पठाएको थियो।

विरोध

विपक्षी एमालेले आयोगको निर्णय दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बीबीसीसँग भने, "यो निर्णयविरुद्ध हामी अदालत जान्छौं"।