अफगानिस्तान: काबुल शवयात्रामा बम विस्फोट

  • 3 जुन 2017
प्रदर्शन तस्वीर कपीराइट Reuters

अफगानिस्तानमा शुक्रबार एउटा प्रदर्शनका क्रममा मारिएका मानिसको शवयात्रामा बम विस्फोट हुँदा कम्तीमा सात जना मारिएको अधिकारीहरुले बताएका छन्।

सुरक्षा व्यवस्था कमजोर भइरहेको भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउने पाँच जना मध्ये एकको शवयात्रामा उक्त घटना भएको हो।

बुधबार ९० जनाको ज्यान जाने गरी एउटा आक्रमण भएपछि त्यस्तो प्रदर्शन गरिएको थियो।

सिनेटरका छोराको सो शवयात्रामा उपस्थित अफगानितानका प्रमुख कार्यकारी अधिकारी अब्दुल्लाह अब्दुल्लाह भने बाँचेका छन्।

काबुलको धेरैजसो क्षेत्र ठप्प भएको समयमा त्यस्तो आक्रमण गरिएको हो।

थुप्रै हताहत

शवयात्रामा कम्तिमा तीन वटा विस्फोट गरिएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले एक सय जना भन्दा बढी घाईते भएको जनाएको छ र मृतकको संख्या अझ बढी हुन सक्ने केहीको अनुमान छ।

सामाजिक सञ्जालमा राखिएका तस्वीरमा घटनास्थलमा थुप्रै शवहरु देखिएका छन्।

शनिबार काबुलका सेना प्रमुखले प्रदर्शनमाथि लडाकुले आक्रमण गर्न सक्ने भन्दै मानिसहरुलाई प्रदर्शनबाट टाढै रहने चेतावनी दिएका छन्।

सुरक्षा कडा

काबुलको मध्यमा जाँचबुझ केन्द्रहरु खडा गरिएका छन्।

हतियारधारी गाडीहरुले सडकको गस्ती गरिरहेका छन्।

शवयात्रामा कसरी विस्फोट गराइयो त्यो स्पष्ट भएको छैन र कुनै समूहले पनि त्यसको जिम्मा लिएको छैन।

अफगान अधिकारीले भने पाकिस्तानसंग सम्बन्धित ठानिएको तालेवानसंग आबद्ध हक्कानी सञ्जालमाथि सो आक्रमण गरेको आरोप लगाएका छन्।

पृष्ठभूमी

काबुलमा विगत ४ दिनमा तीनवटा प्राणघातक घटनाहरु भएका छन्।

यसै हप्ता केही दिन अघि ९० जनाको ज्यान जाने गरी गरिएको आत्मघाती आक्रमणबाट स्थानीयबासी अझै स्तब्ध छन्।

त्यो आक्रमण रोक्नलाई पर्याप्त कदम नचालेकोमा सरकारप्रतिको आक्रोश व्यक्त गर्दै शुक्रबार प्रदर्शन गरिएको थियो।

र त्यसै प्रदर्शनमा मारिएका एकजना मानिसको शवयात्रालाई आज निशाना बनाइएको छ।

असुरक्षा

शवयात्रामा थुप्रैजना प्रमुख राजनीतिज्ञहरु उपस्थित थिए।

उनीहरु समेत काबुलको बढ्दो हिंसाबाट सुरक्षित छैनन् भन्ने यो घटनाले देखाएको छ।

काबुललाई कुनै समयमा अफगानिस्तानको सबैभन्दा सुरक्षित स्थान ठानिन्थ्यो।

हाल त्यो देशको सबभन्दा खतरनाक स्थान जस्तो देखिएको छ।

अफगानिस्तानको एक तिहाइ भन्दा बढी भाग सरकारी नियन्त्रण बाहिर गएको ठानिएको छ।