लण्डन घटना ‘सम्भावित आतंकवादी हमला’: मे

  • 4 जुन 2017
लण्डन तस्वीर कपीराइट PA

ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले लण्डनमा भएका घटनालाई सम्भावित आतंकवादी घटना भनेकी छन्।

"यो घटनाक्रम तीव्ररुपमा छानबिन हुँदैछ। म घटनास्थलमा पुगेका प्रहरी तथा आपतकालीन सेवा प्रदायकप्रति आभार व्यक्त गर्न चाहन्छु। यी भयानक घटनामा परेकाहरुको कुशलताका निम्ति हामी प्रार्थना गर्छौं।"

लण्डन ब्रिज, बरो मार्केट तथा भक्सल क्षेत्रमा भएका घटनापछि एक विज्ञप्ती जारी गर्दै ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले ती घटनालाई सम्भावित आतंकवादी घटना मान्दै छानविन भइरहेको बताएकी छन्।

ती घटनामा कम्तीमा एकजनाको ज्यान गएको छ भने २० जनाभन्दा धेरै घाइते भएका छन्।

मेट्रोपोलिटन प्रहरीले लण्डन ब्रिज तथा बरो मार्केट क्षेत्रको घटनालाई आतंकवादी भनेको छ।

तर उसले भक्सलको घटना लण्डन ब्रिज तथा बरो मार्केट घटनासंग नजोडिएको जनाएको छ।

निर्दयी

विपक्षी दलका नेता जेरेमी कोर्बिनले घटनालाई निर्दयी भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घडीमा अमेरिका ब्रिटेन तथा लण्डनको साथमा रहेको भन्दै ट्वीट गरेका छन्।

म्यानचेष्टर शहरमा एक पप कन्सर्टका बेला भएको आत्मघाती विष्फोटमा २२ जना मारिएको दुई साता नवित्दै यी घटना भएका छन्।