विपक्षी अडानमाझ प्रम चुनाव अन्योलमा

  • 4 जुन 2017
सभामुख

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छान्न आइतबारका लागि निर्धारित चुनाव अन्योलमा परेको देखिएको छ।

भरतपुर मतगणना विवादलाई लिएर संसद् अवरुद्ध पार्दै आएको प्रमुख विपक्षी नेकपा एमालेले एउटा वडामा पुन: मतदान गराइने निर्णयपछि अवरोध कायमै राख्ने बताएको छ।

सभामुखले प्रधानमन्त्रीको चुनावअघि प्रमुख दलहरुबीच सहमतिको प्रयास गर्ने बताएकी छन्।

यद्यपि उनले त्यो प्रयत्न विफल भए आफूले अख्तियार गर्ने रणनीतिबारे भने प्रष्ट खुलाएकी छैनन्।

असहमति

प्रधानमन्त्रीको चयन प्रक्रियामै असहमति जनाएको एमाले भरतपुरमा एउटा वडामा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयबाट थप चिढिएको छ।

त्यसको कानूनी उपचार समेत खोज्ने बताएको उसले राजनीतिक विरोध भने संसद्‍मा प्रधानमन्त्रीको चयन प्रक्रियामा अवरोध सिर्जना गरेर जनाउने मनस्थिति बनाएको देखिन्छ।

तर सभामुख ओनसरी घर्तीले बिहान ११ बजेका लागि निर्धारित चुनावअघि नै एमालेसहित प्रमुख दलहरुसँग सहमतिको प्रयास गर्ने भन्दै निकासका लागि पार्टीहरु नै जिम्मेवार हुनुपर्ने बताइन्।

उनले भनिन्, "प्रतिपक्षको आवाजहरु उठिरहेका छन् त्यसलाई सत्तापक्षले अवश्य पनि हेर्नुपर्छ, सुन्नुपर्छ र उहाँहरुले जे कुरा उठाइरहनुभएको छ यसको समाधानका निम्ति सबैले एकै ठाँउमा बसेर छलफल चलाउनैपर्छ। यो छलफल चल्ला र निष्कर्ष निस्कन्छ भन्ने मेरो विश्वास हो।"

प्रक्रिया

तर हल ननिस्के संसद् अवरोधबीच नै प्रक्रिया अघि बढ्ला त?

जवाफमा सभामुख घर्ती भन्छिन्, "हामीसँग समय एकदमै कम छ। त्यसैले हामीले बहस छलफल पनि निकै सीमित समयमा नै गर्नुपर्छ। र, उहाँहरुलाई छलफल गरेर निष्कर्षमा पुग्नका लागि अवश्य पनि केही समय चाहिएला। तर उहाँहरुले यो पनि सोच्नुपर्यो कि जनताले चाहेको प्रक्रिया अगाडि बढिरहेको छ।"

सभामुखको उक्त टिप्पणीमा प्रधानमन्त्रीको निर्वाचनका लागि तोकिएको बैठक सार्ने संकेत त देखिन्छ तर सहमतिको खोजीमा धेरै समय दिन सक्ने स्थितिमा भने उनी देखिनन्।

आफ्नो नेतृत्वमा सत्ता सम्हाल्ने व्यग्र प्रतीक्षामा रहेको संसद्को सबभन्दा ठूलो दल कांग्रेस र सभामुखसँगै जोडिएको अर्को सत्तारुढ दल माओवादी केन्द्रको तीव्र दवाव सभामुखमाथि पर्ने कतिपय ठान्छन्।