भयभीत नहुन लण्डन मेयरको आग्रह

  • 4 जुन 2017
लण्डन प्रहरी तस्वीर कपीराइट PA
Image caption आतंकवादी आक्रमणपछि शहरमा प्रहरी गस्ती गरिँदै

लण्डनका मेयर सादिक खानले शहरको केन्द्रमा भएको आतंकवादी आक्रमणबाट भयभीत नहुन आग्रह गरेका छन्।

शनिबार राती भएको आक्रमणमा ज्यान जानेको संख्या ७ पुगेको छ भने करिब पचास घाइते भएका छन्।

मध्य शहर स्थित लण्डन ब्रिज नजिकै एउटा भ्यान मानिसहरु हिँडिरहेको ठाउँमा लगेर जोतिएको थियो।

त्यसभन्दा अघि उक्त भ्यानबाट बाहिर निस्केर तीनजनाले थु्प्रै मानिसहरुलाई चक्कु हानेका थिए।

'स्तम्भित'

Image caption लण्डनका मेयर सादिक खानले भयभीत नहुन आग्रह गरेका छन्

मेयर खानले गए रातीको घटनाबाट आफू स्तम्भित र आक्रोशित भएको बताए।

तर उनले बिहिबारका लागि तय गरिएको आम निर्वाचन पछाडि सार्न नहुने बताए।

सत्तासीन कञ्जरभेटिभ पार्टीले उसको चुनाव प्रचार प्रसार अभियान स्थगित गरेको छ।

प्रतिक्रिया

ब्रिटिश घटनाप्रति विश्व नेताहरुको प्रतिक्रिया प्राप्त भइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घडीमा अमेरिका ब्रिटेन तथा लण्डनको साथमा रहेको भन्दै ट्वीट गरेका छन्।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले पछिल्लो दुखान्तमा फ्रान्स सँधैभन्दा अझ बढि ब्रिटेनको पक्षमा रहेको बताए।

जर्मन चान्सलर एंगेला मर्कलले भनिन्- त्राश र शोकका बेला युरोप एकबद्ध छ र सबै किसिमका आतंकवादसँग लड्न प्रतिबद्ध पनि छ।

क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डले पनि ऐक्यबद्धता जनाइएका विज्ञप्ति जारी गरेका छन्।