लण्डन हमला: पछिल्लो जानकारी

  • 4 जुन 2017

मध्य लण्डनस्थित 'लण्डन ब्रिज' मा रहेका पैदलयात्रुमाथि तीनजना पुरुषले एउटा भ्यान लगेर ठोक्काइ नजिकैको 'बरो मार्केट' को पब र रेस्तरांहरुमा शनिवारको रात रमाइलो गरिरहेकाहरुमाथि अन्धाधुन्ध छुरा प्रहार गर्दा सातजनाको ज्यान गएको छ।

उक्त घटनापछि बोल्दै ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले "(अब अति भयो), इनफ इज इनफ" भनेकी छिन्।

प्रहरीले उक्त हमलालाई "आतंकवादी घटना" भनेको छ।

तस्वीर कपीराइट Google

हालसम्मका विवरण यस्ता छन्।

कोही नेपाली परेका छैनन्

लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले शनिबार राती लण्डनब्रीज क्षेत्रमा भएको घटनामा कुनै पनि नेपाली वा नेपाली मूलका व्यक्ति परेको खबर प्राप्त नभएको बीबीसी नेपाली सेवालाई बताएका छन्।

उनले ब्रिटेनस्थित सबै नेपालीहरुलाई सजग र सुरक्षित रहन पनि आग्रह गरेका छन्।

भएको के हो?

शनिवार राती दश बजेर आठ मिनेट जांदा लण्डन ब्रिजमा एउटा सेतो भ्यानले केही मान्छे किचेको भन्ने विवरण पछि सशस्त्र प्रहरी र एम्बुलेसहरु बोलाइएको थियो।

उक्त भ्यानले सडक पेटीमाथि उक्लेर केहि मान्छेहरुलाई किचेको थियो।

त्यसपछि उक्त भ्यान अघि बढ्दै गएर नजिकैको "बरो मार्केट" पुगेर रोकिएको थियो। त्यसबाट संदीग्ध हमलाकारीहरु बाहिर निस्की लण्डनवासी तथा पर्यटकहरुको घुंइचो रहने सो क्षेत्रमा रहेका केही मानिसहरुलाई छुरा प्रहार गरेका थिए।

सातजनाको ज्यान गएको र अन्य ४८ जना घाइते भएका बुझिएको छ।

पहिलो घटना भएको आठ मिनेट भित्रै प्रहरीले संदीग्ध आक्रमणकारीहरुलाई गोली हानी मारिदिएका थिए।

आतंकवादी घटनाले चुनाव रोकिन्न: टरिजा मे

भयभीत नहुन लण्डन मेयरको आग्रह

तस्वीरमा लण्डन हमला

पीडितहरु

उक्त घटनामा मारिएका सातजना मध्ये कसैको पनि परिचय सार्वजनिक गरिएको छैन।

तर ती मध्ये एक फ्रान्सेली र एक क्यानडेली नागरिक भएको प्रहरीले जनाएका छन्।

घाइतेहरुमा केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

आफ्ना परिवारजन र साथीहरुको अवस्थाका बारे चिन्तित सर्वसाधारणको सुविधाका लागि एउटा टेलिफोन परामर्श सेवा शुरु गरिएको छ।

तस्वीर कपीराइट Reuters

हमलाकारीहरु

हमलाका लागि जिम्मेवार ठानिएका तीनजना पुरुषहरुलाई बरो मार्केट क्षेत्रमा प्रहरीले गोली हानी मारिदिएका थिए।

एकजना फोटोग्राफरले खिचेको फोटोमा त्यहांको एउटा पब बाहिरको सडकमा मानिसहरु लडिरहेका देख्‍न सकिन्छ र ती मध्ये एक जनाको जिउमा क्यानिस्टरहरु बांधिएको जस्तो देखिन्छ।

प्रहरीले हमलाकारीहरुले नक्कली "विस्फोटक भेस्ट" लगाएका भेटिएको बताएको छ।

पछिल्लो अवस्था के छ?

लण्डनको मेट्रोपोलिटन प्रहरी कमिश्नर क्रेसिड डिकले भनिन्, "स्थिति नियन्त्रण मै छ तर मानिसहरुको सुरक्षाका लागि केहि प्रहरीहरु घटनास्थलमा नै परिचालित छन्।"

आतंकवाद विरोधी कमाण्डको नेतृत्वमा घटनाको अनुसन्धान भैरहेको छ।

प्रभावितहरुका लागि गृहमन्त्रालयले एउटा वेबसाइट खोलेको छ।

तस्वीर कपीराइट Getty Images

पूर्वी लण्डनको बार्किंग क्षेत्रमा सशस्त्र प्रहरीले छापा मारेको छ।

त्यहांको एउटा फ्ल्याट तीनजना हमलाकारीमध्ये एकजनाको थियो।

उक्त घटनामा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लण्डनका मेयर सादिक खानले शहरका सडकहरुमा प्रहरीको उपस्थिति बढाइने बताएका छन्, तर त्यसबाट मानिसहरुले चिन्तित हुनु नपर्ने उनको भनाइ छ।

नेटवर्क रेलका अनुसार लण्डन ब्रिज ओभरग्राउण्ड रेल स्टेशन आइतबार दिनभर बन्द रहने छ।

लण्डन ब्रिज र बरो अन्डरग्राउण्ड स्टेशन पनि बन्द छन्।