लण्डन हमलाको विश्व नेताहरुद्वारा निन्दा

  • 4 जुन 2017
Image caption लण्डन हमला

लण्डनमा सात जनाको ज्यान जाने गरी शनिबार राती भएको हमलाको विश्व नेताहरुले आक्रोश व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्वीटर सन्देश मार्फत आक्रमणको निन्दा गरेका छन्।

तर उनले लण्डनका मेयर सादिक खानको आलोचना गरेको जस्तो पनि बुझिएको छ।

मेयर खानले हमला भएपनि आत्तिनु पर्ने अवस्था नरहेको बताएका थिए।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले फ्रान्स पहिलेभन्दा पनि अझ निकटताका साथ ब्रिटेनको पक्षमा रहेको बताएका छन्।

एकताबद्ध

जर्मन चान्सलर एंगेला मर्केलले हिंसाको विभत्स अवस्था र शोकमा तथा आंतकवादका सबै प्रकार विरुद्ध लड्ने दृढतामा आफ्ना सीमाका सबै क्षेत्रमा युरोप एकताबद्ध छ भनेकी छन्।

पोप फ्रान्सीसले पनि युद्ध तथा आतंकवादको महारोग निको हुनु पर्ने भन्दै हमलाका निर्दोष पीडित र तिनका परिवारजनका लागि प्रार्थना गर्ने बताएका छन्।

त्यसअघि आफ्नो कार्यालय टेन डाउनिंग स्ट्रीट बाहिरबाट बोल्दै ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले तीन महिनाको समयमा देशमा तेस्रो आतंकवादी हमला भएको भएतापनि आगामी बिहीबार हुने आम निर्वाचन प्रभावित नहुने बताएकी थिइन्।

प्रधानमन्त्री मे ले यो पछिल्लो हमला र त्यस्तै प्रकृतिका विगतका घटना गराउनेहरु 'इस्लामवादी अतिवादको दुष्ट सिद्धान्तबाट' एकआपसमा सम्बन्धित रहेका बताइन्।

त्यस्तो सिद्धान्त इस्लामको गलत व्याख्या भएको र बहुलवादी ब्रिटिश मूल्यमान्यता विपरित रहेको उनको भनाइ थियो।

आग्रह

उनले ब्रिटेनका जनतालाई एकताबद्ध रहन र अतिवादीहरुलाई तिनीहरुको विचारधाराप्रति ‌अति सहिष्णु भएर आफूमाझ सुरक्षित रहन नदिन आग्रह पनि गरिन्।

"इस्लामवादीहरुबाट प्रेरित आतंकवादको जोखिमको उदयसंगै हाम्रो देशले आक्रमणका योजनाहरुलाई भताभुंग पार्दै सर्वसाधारणको रक्षा गर्न उल्लेख्य प्रगति हासिल गरेको छ। तर अब यो त अति भयो भनेर भन्ने बेला भएको छ," ब्रिटिश प्रधानमन्त्रीले भनिन्।

मध्य लण्डनमा सातजनाको मृत्यु र झण्डै पचास जना घाइते हुने गरी भएको हमलाको केही घण्टापछि बोल्दै ब्रिटिश प्रधानमन्त्रीले त्यस्तो प्रतिक्रिया व्यक्त गरेकी हुन्।

सो घटनाका सम्बन्धमा प्रहरीले पूर्वी लण्डनबाट १२ जनालाई पक्राउ गरेको जनाएको छ।

आगामी जुन आठ तारिखका दिन हुने निर्वाचनको प्रचारप्रसार गतिविधि आइतबारको दिन ठूला पार्टीहरुले स्थगित गरेका छन्।

आक्रणकारीहरुले शनिबार रातीको व्यस्त समयमा लण्डनको एउटा प्रसिद्ध पुल, लण्डन ब्रिज, मा रहेका पैदलयात्रुलाई मोटर ठोक्काएर हमला गरेका थिए।

प्रहार

त्यसपछि ती हमलाकारीहरुले मोटरबाट बाहिर निस्की नजीकैको बरो मार्केट क्षेत्रमा सडकमा हिंडीरहेका, पब र रेस्तरांहरुमा रहेका मानिसहरुमाथि धारिलो हतियार प्रहार गरेका थिए।

केही मिनेटभित्रै त्यहां पुगेका प्रहरीले ति हमलाकारीहरुलाई गोली हानी मारिदिएका थिए।

सो घटनामा घाइते भएका ४८ जनाको लण्डनका पाँचवटा अस्पतालहरुमा उपचार भैरहेको छ।

थुप्रैको चोट प्राणघातक रहेको बताइएको छ।

घाइते हुनेहरुमा ब्रिटेन, फ्रान्स, स्पेन, अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक रहेका छन्।

घाइतेमा चारजना प्रहरी अधिकारीहरु पनि छन्।