‘मतदाता शिक्षालाई थप प्रभावकारी बनाइँदै’

  • 5 जुन 2017
मतदान

निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको चुनावमा अनपेक्षित संख्यामा मत बदर भएपछि दोस्रो चरणका लागि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने गरी काम थालिएको बताएको छ।

दोस्रो चरणमा प्रत्येक मतदाताको घर-घरमै पुगेर शिक्षा दिने व्यवस्था मिलाइएको र मतदान शिक्षालाई मतदानको दिन पनि जारी राखिने आयोगका अधिकारीहरुले बताएका छन्।

मतदानमा प्रयोग हुने स्टाम्प प्याड र त्यसमा प्रयोग हुने मसीको रंग परिवर्तन गर्दै रातो बनाउने निर्णय आयोगले यसअघि नै गरिसकेको छ।

पहिलो चरणको निर्वाचनका बेला बदर मतलाई पहिलेका निर्वाचनभन्दा कम पार्ने भन्दै आयोगले काम गरेको बताइरहँदा शहरी क्षेत्रमै धेरै मतपत्र बदर भएको पाइएको थियो।

अवलोकन

दोस्रो चरणको निर्वाचन गरिने तराईका जिल्लाहरु समेत रहेकाले बदर मत झनै बढ्ने आंशका गरिएको छ।

तर निर्वाचन आयोगले चाहिँ पहिलो चरणको मतदाता शिक्षाको अनुभवका आधारमा दोस्रो चरणका लागि मतदाता शिक्षालाई अगाडि बढाइएको बताएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, "कस्तो किसिमको मतपत्र त्यो जिल्लामा प्रयोग हुँदैछ। त्यो मतपत्र नै अवलोकन गराउने व्यवस्था हामीले मिलाएका छौँ। गाँउ-गाँउमा जाने, मतदाता शिक्षा कार्यकर्तालाई जिम्मेवारी बनाउँदै उनीहरु पुग्ने प्रत्येक घरको घरधनीले प्रशिक्षण लिएपछिको हस्ताक्षर नै लिएर ल्याउनुपर्ने व्यवस्था गरिएको छ।"

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा दिन झण्डै १२ हजार मतदाता शिक्षा कार्यकर्ताहरु खटाइएको बताएको छ।

नवलपरासी र रुकुमको आधा क्षेत्रसहित ४३ जिल्लामा रहेका ९१ लाखभन्दा बढी मतदातासम्म पुग्ने बताइएको छ।

स्थानीय भाषा

यो बाहेक स्थानीय स्तरमा स्थानीय भाषामै सामाग्री बनाउने र कलाकारलाई समेत मतदाता शिक्षामा प्रयोग गरिने प्रवक्ता शर्माले बताए।

उनले थपे, "निर्वाचन शिक्षालाई विभिन्न भाषामा विभिन्न स्थानीय एफएम र टेलिभिजनमार्फत पनि देखाउने र स्थानीय कलाकारको प्रयोग गरी भिडियो बनाएर प्रयोग गर्ने जस्ता थप योजनाहरु ल्याएका छौँ।"

आयोगले पहिलो चरणको निर्वाचनमा स्ट्याम्प प्याड र त्यसका लागि प्रयोग हुने मसीको रंग कालो प्रयोग गरेको थियो।

पहिलो चरणमा १० प्रतिशत मत बदर भएको बताइन्छ र त्यसमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्नु प्रमुख कारण रहेको कतिपयले आरोप लगाँउदै आएका छन्।

तर आयोगका अधिकारीहरुले बदर मत संख्या बढ्नुमा मतपत्र छापिसकेको अवस्थामा राजनीतिक दलहरुले गरेको तालमेललाई समेत भन्ने गरेका छन्।