रुख संरक्षण गर्ने सिक्किमेली काइदा

  • 5 जुन 2017

उमाकान्त खनाल

बीबीसी नेपाली सेवा

बटुवा

तीव्र शहरीकरणसँगै जथाभावी रुख काट्ने प्रचलन रहेका बेला अधिकांश नेपालीभाषी रहेको भारतको पहाडी राज्य सिक्किममा पुराना रुखहरुको संरक्षण गरिएको छ।

त्यहाँ राज्य सरकारले शहरका बीचमा रहेका रुखहरुलाई काट्ने अनुमति दिने गरेको छैन्।

सिक्किमका अधिकारीहरुका अनुसार शहरीकरण गर्दा रुख नकाटी अन्य वैकल्पिक बाटो अपनाउने गरिएको छ।

सिक्किमको संरक्षण प्रयास अरु ठाउँहरुका लागि पनि अनुकरणीय हुन सक्ने जानकारहरु बताउँछन्।

संरक्षण

सिक्किमको नाम्ची शहरको मध्य भागका पुराना रुखहरुलाई जमिनबाट पर्खाल लगाएर संरक्षण गरिएको छ।

रुखका नजिक मानिसहरुलाई बस्नका लागि चौताराहरुको समेत निर्माण गरिएको छ।

अर्को पिपलको रुखको फेदमा सजावटका माछा राखिने 'एक्वारियम' बनाएर राखिएको छ।

रुखका छेउछाउबाट सवारी साधनहरु गुडाउन रोक लगाइएको छ।

पर्यटकहरु त्यही रुखको छहारीमा बनाइएका चौतारामा रमाउने गर्छन्।

हराभरा

नाम्चीमा करिब १४ वर्षदेखि बस्दै आएका बिहार किशनगञ्जका अलिमुद्दिनले भने, "यहाँ रुख काट्न पाइँदैन, मैलै पहिलेदेखि नै यी रुखलाई यस्तै देखेको हुँ। नाम्चीमा यति धेरै विकासका काम भए तर यी रुखलाई अहिलेसम्म संरक्षण गरिएको छ।"

यसैगरी सिक्किमको रम्फु बजार नै पुराना रुखहरुले भरिपू्र्ण छ।

अन्य शहरहरु गान्तोक, मल्ली, सिङताम, जोरथाङ, देन्ताममा समेत समेत धेरै प्रजातिका पुराना रुखहरुलाई शहरीकरणको नाममा काट्नुको सट्टा संरक्षण गरेर राखिएको छ।

सिक्किमका चारवटै जिल्लामा वन अधिकारीका रुपमा अनुभव बटुलेका र हाल दक्षिण सिक्किमको जिल्ला वन अधिकारी रहेका आरपी शर्माले भने, "जबसम्म रुख माटोमा अडिन्छ तबसम्म रुखलाई चलाउनुहुँदैन किनभने रुख हाम्रा सम्पत्ति हुन्। यी रुख देखेर बाहिरबाट पर्यटकहरु आउँछन्। सिक्किम सरकारले पनि शहरका रुख काट्न प्रतिबन्ध लगाएको छ।"

सिक्किमका अधिकारीहरु भन्छन् यहाँ एक शताब्दीभन्दा अगाडि रोपिएका रुखहरु समेत संरक्षित छन् जसले शहरलाई हराभरा राख्न महत्वपूर्ण योगदान दिइरहेका छन्।