६ मुलुकहरुद्वारा कतारसँग सम्बन्ध विच्छेद

  • 5 जुन 2017
कतार तस्वीर कपीराइट Getty Images
Image caption कतारविरुद्ध इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाइएको छ

आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै साउदी अरेबिया, बहरेन, संयुक्त अरब एमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका छन्।

उनीहरुले कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन्।

साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाइ सम्पर्क विच्छेद गरिएको जनाएको छ।

सो संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै "राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन" पछिल्लो कदम चालिएको जनाएको छ।

हस्तक्षेप

सन् २०१४ मा पनि सउदी अरेबिया, बहराइन र युएईले कतारले उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै दोहास्थित तिनका राजदूतहरुलाई फिर्ता बोलाएका थिए।

खासगरी सउदी अरेबियाको पछिल्लो निर्णयबाट कतारमा खाद्य संकट उत्पन्न हुनसक्ने आशंका गरिएको छ।

कतारलाई आवश्यक खाद्यान्न मध्ये झण्डै ४० प्रतिशता सउदी अरेबियाबाट लरीहरुमा राखेर ल्याउने गरिएको ठानिन्छ।

कतारमा झण्डै चार लाख नेपाली कामदारहरु कार्यरत रहेको अनुमान गरिएको छ।

ती मध्ये कैयौं सन् २०२२ मा कतारमा आयोजना गर्न लागिएको विश्व कप फुटबलका लागि रङ्गशालाहरु बनाउने काममा संलग्न छन्।

दोहा न्युज समाचारपत्रले मानिसहरु खाद्यान्न, पिउने पानी आदि किन्न ठुल्ठूला पसलहरुमा पुगेको जनाएको छ।

'ह्याकिङ्'

कतारको आधिकारिक समाचार संस्थाको कम्प्युटरमा अनधिकृतरुपमा 'ह्याकिङ्' गरिएपछि खाडी क्षेत्रमा बढेको तनावमाझ पछिल्ला घोषणा भएका हुन्।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी क्षेत्रका देशहरुलाई एकढिक्का हुन आह्वान गरेका छन्।

कतारका अमिरले दिएको भनिएको विवादास्पद अभिव्यक्ति अनलाइनमार्फत सार्वजनिक भएपछि खाडी देशहरुबीचको विवाद चर्किएको थियो।

तर कतारले ती अभिव्यक्ति अवास्तविक भएको भन्दै त्यसलाई अस्वीकार गरेको थियो।

उसले त्यसलाई "लाजमर्दो साइबर अपराध"को संज्ञा दिएको थियो।