'पुन: मतदानको निर्णय यथास्थितिमा राख्नु'

  • 5 जुन 2017
सर्वोच्च अदालत
Image caption न्यायाधीश चोलन्द्र शम्शेर जबराको एकल इजलासले भरतपुरमा पुन: मतदान गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन नगर्न आदेश दिएको छ( फाइल फोटो)

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई जेठ २८ गते आइतबारसम्मका लागि यथास्थितिमा राख्न आदेश दिएको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले जेठ २८ गते विपक्षलाई पनि छलफलका लागि झिकाउने र उक्त छलफलबाट टुङ्गो नलागेसम्म जेठ २० गतेको निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले बताए।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र बदर गर्ने र पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिट निवेदनमा उनीहरुले च्यातिएका ९० मतपत्रलाई बदर मानेर मतगणना अगाडि बढाउनका लागि उत्प्रेषणयुक्त परमादेश समेत माग गरेका थिए ।