'संसद अवरोध खोल्न प्रमुख दलहरु सहमत'

  • 5 जुन 2017
तस्वीर कपीराइट फोटो सौजन्य: सभामुखको सचिवालय
Image caption अवरुद्ध बैठक खोल्न सभामुखले बैठक बोलाएकी थिइन्

प्रमुख विपक्षी दलको विरोधका कारण अवरुद्ध रहदै आएको संसदको बैठक मंगलबारदेखि नियमित संचालन गर्न प्रमुख तीन दल सहमत भएका छन्।

सोमबार सभामुखले बोलाएको बैठकमा सबै निर्वाचन तोकिएकै समयमा गर्न र निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सबै दलले प्रतिवद्धता व्यक्त गर्ने सहमति भएपछि संसदको अवरोध हट्ने भएको नेताहरुले बताएका छन्।

दलहरुबीच भएको सहमतिसँगै आइतबार हुन नसकेको नयाँ प्रधानमन्त्री निर्वाचन मंगलबार हुने भएको छ।

संसद अवरोधको कारण बन्दै आएको भरतपुर महानगरपालिकाको एउटा वडामा पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई यही जेठ २८ गतेसम्म यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अवरोध

प्रधानमन्त्रीको निर्वाचन, बजेटमाथिको छलफल जस्ता महत्वपूर्ण कामहरु गर्नुपर्ने संसदका बैठकहरु प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण संचालन हुन सकिरहेका थिएनन्।

भरतपुरको वडा नम्बर १९ मा मतपत्र च्यातिएको र उक्त वडामा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णय सच्याइनुपर्ने र मतगणना अगाडि बढाउनु पर्ने माग एमालेले राख्दै आएको थियो।

एमालेलाई मनाउने र संसद अवरोध खोल्ने भन्दै सभामुख र सतारुढ दलहरुले गर्दै आएका प्रयासले भने सोमबार नतीजा दिएको छ।

दलहरुको बैठक आयोजना गरेकी सभामुख ओनसरी घर्तीले भनिन्, "राजनीतिक दलहरुका बीचमा सौहार्द्रपूर्ण रुपमा कुराकानी भएर सहमति पनि भएको छ। अब मंगलबारदेखि संसद संचालन हुन्छ र प्रधानमन्त्रीको निर्वाचन हुन्छ।"

दलहरुका बीचमा सहमति हुनुको एउटा कारणमा सर्वोच्च अदालतको आदेश रहेको नेताहरुको भनाइ छ।

रिट निवेदन

भरतपुरमा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले उक्त निर्णय जेठ २८ गतेसम्मका लागि यथास्थितिमा राख्न सोमबार नै आदेश दिएको छ।

रिटको सोमबार प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सो दिन विपक्षलाई पनि छलफलका लागि झिकाउने र उक्त अवधिका बेला निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

यसका अलावा आगामी निर्वाचनहरुलाई शान्तिपूर्ण र निष्पक्ष रुपमा संचालनका लागि सत्तारुढ दलका नेताहरुले प्रतिबद्धता व्यक्त गर्ने सहमतिपछि आफुहरु संसदको अवरोध हटाउन तयार भएको बैठकका एकजना सहभागी एमाले उपाध्यक्ष भीम रावलले बताए।

उनले भने, " कार्तिक वा मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्न, सबै तहका निर्वाचनहरु निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न, पहिलो चरणमा देखिएका अनुचित क्रियाकलाप रोक्न सम्बद्ध सबैलाई आग्रह गर्ने प्रतिबद्धता व्यक्त भएपछि हामीले सहमति जनाएका हौं।"

प्रतिबद्धता

मंगलबार बस्ने संसदको बैठकमा कामचलाउ प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओलीले निर्वाचनका बारेमा प्रतिबद्धता व्यक्त गर्ने बताइएको छ।

बैठकमा सहभागी माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबार संसदको बैठक दुई चरणमा हुनेछ।

पहिलो चरणमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढ्नुका साथै तीन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने र दोस्रो चरणमा प्रधानमन्त्री निर्वाचन गर्ने समेत समझदारी भएको उनले बताए।

प्रधानमन्त्री निर्वाचनका लागि काँग्रेस सभापति देउवा एक्ला उम्मेदवारका रुपमा रहेका छन्।

हाल सरकारमा रहेका दलहरुका अतिरिक्त अन्य कतिपय दलहरुले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेकाले प्रधानमन्त्री बन्नका लागि बहुमतको कुनै समस्या नरहेको र सकेसम्म दुई तिहाई नै पुर्याउने प्रयासमा आफुहरु रहेको काँगेस नेताहरुको भनाइ छ।