ससंद्ले आज नयाँ प्रधानमन्त्री चयन गर्दै

  • 6 जुन 2017
चयन

व्यवस्थापिका संसद्‍मा मंगलबार बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयन हुँदैछन्।

लगातार संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले सदन खोल्न राजी भएपछि प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको हो।

योसँगै प्रधानमन्त्री पदका एक्ला उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको नयाँ कार्यकारी प्रमुख बन्ने निश्चित जस्तो देखिन्छ।

देउवाका समर्थक र प्रस्तावकले संसद्‍मा बोल्ने र त्यसपछि प्रधानमन्त्री चयनको प्रक्रिया शुरु हुने संसद् सचिवालयले जनाएको छ।

बहुमत

संवैधानिक प्रावधान अनुसार एक्लो उम्मेदवार भएपनि उनले आफ्नो पक्षमा स्पष्ट बहुमत देखाउनुपर्नेछ।

हालको सरकारमा रहेका सबै दल देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेकाले उक्त बहुमत साबित गर्न कुनै समस्या नरहेको सत्ता गठबन्धनका नेताहरु बताउँछन्।

देउवाको उम्मेदवारीका बेला देखिएको समर्थनमा अझ केही दल थपिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए।

उनले भने, "माओवादी केन्द्रको समर्थन त यसै पनि भयो। चौथो ठूलो दल राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा नेपालको पनि समर्थन प्राप्त भइसकेको छ। अन्य साना दलहरु जो अघिल्लो सरकारमा थिए उनीहरु पनि सँगै छन्।"

प्रधानमन्त्री चुनिएपछि मंगलबार नै देउवा नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरिएको बताइएको छ।

अब बन्ने सरकारमा पनि कांग्रेस-माओवादी गठबन्धनले नै धेरै मन्त्रालयहरु पाउने देखिन्छ।

बागडोर

अन्य दलको हकमा उनीहरुलाई कुन मन्त्रालय दिने भन्नेबारे गृहकार्य भइरहेको नेताहरुले बताएका छन्।

सभापति देउवाले आफ्नो नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनाउने तयारी गरेकोले पूर्ण आकारको मन्त्रिमण्डल बन्न केही समय लाग्ने प्रमुख सचेतक श्रेष्ठले बताए।

उनले थपे, "सानो आकारको मन्त्रीमण्डल बन्छ। सबैलाई सरकारमा सकेसम्म सहभागिता गराउने भन्ने कुरा छ। त्यसैले तत्कालै समीकरणको हिसाब मिलाउन गाह्रो हुने भएकोले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि विस्तृत मन्त्रिमण्डल गठन होला।"

प्रधानमन्त्री निर्वाचनका लागि संसद् सञ्चालन गर्न तयार भएको एमालेले भने देउवाको विपक्षमा मतदान गर्ने बताएको छ।

मंगलबार संसद्‍मा बहुमत साबित गरे देउवाले चौथो पटक सिंहदरबारको बागडोर सम्हाल्ने मौका पाउनेछन्।

यसअघि २०५२, २०५८ र २०६१ सालमा उनी प्रधानमन्त्री बनिसकेका छन्।