'रक्कामा सैन्य अभियान आरम्भ'

  • 6 जुन 2017
तस्वीर कपीराइट AFP
Image caption एसडीएफ लडाकुहरु रक्का शहरको बाहिरी भेगमा प्रवेश गरेका बताइएको छ

सिरियामा रहेका एकजना वरिष्ठ अमेरिकी सैनिक कमाण्डरले रक्का शहरबाट इस्लामिक स्टेट लडाकुहरुलाई धपाउन सैन्य अभियान आरम्भ भएको बताएका छन्।

रक्कालाई इस्लामिक स्टेट (आइएस) को राजधानी नै पनि भन्ने गरिन्छ।

अमेरिकी सहयोग प्राप्त कुर्द नेतृत्वको एसडीएफ लडाकुहरु पहिलो पल्ट इस्लामिक स्टेट नियन्त्रणमा रहेको रक्का शहरको बाहिरी भेगमा प्रवेश गर्दा ठूलो गोलाबारी र हवाई हमलाहरुको आवाज सुन्न सकिन्छ।

सिरियन डिमोक्र्याटिक फोर्स भनिने एसडीएफको आक्रमण हाल शहरको पूर्वी भेगमा केन्द्रीत रहेको छ।

सडकहरुमा पनि भीषण भिडन्तहरु भैरहेका विवरणहरु आएका छन्।

भिडन्त

एसडीएफले आफू सिरियाली राष्ट्रपति बशर अल असदसंग सम्बद्ध नरहेको बताउने गर्छ।

उनको सत्तालाई उल्टाउन खोज्ने विद्रोही सैन्यसंग पनि आफ्नो कुनै लेनादेना नरहेको दावी गर्ने एसडीएफले सन् २०१५ को अक्टोबर यता इस्लामिक स्टेटलाई ६ हजार वर्ग किलोमिटर क्षेत्रबाट धपाइसकेको बताउने गर्छ।

एसडीएफको सैनिक अभियान गत नोभेम्बर महिनामा नै आरम्भ भएको हो।

जुन बेला इराकमा सरकार समर्थित सैन्यले त्यहांको मोसुल शहरबाट इस्लामिक स्टेट लडाकुहरुलाई धपाउन शुरु गरेका थिए।

सैन्य अभियान

रक्का शहरमाथि पुन: नियन्त्रण कायम गर्ने यो एउटा वृहत् सैन्य अभियानको पांचौ तथा अन्तिम चरण हो।

यस अवधिमा सो शहरमा रहेका आइएस लडाकुहरुलाई प्रतिरक्षात्मक उपाय अपनाउन र संगठित हुन पर्याप्त समय प्राप्त भएको जस्तो देखिन्छ। साथै त्यसका केही ठूला नेताहरु सो शहरबाट उम्किएका हुन सक्ने पनि बताइएको छ।

सो शहरमा तीनलाख वासिन्दाहरु रहेका बुझिएको छ र एसडीएफले तिनीहरुलाई सकेसम्म शहरबाट बाहिरिनका लागि आह्वान गरेको छ।

आइएसले सिरियाको रक्का शहरलाई सन् २०१४ को आरम्भतिर आफ्नो कब्जामा लिएका थियो र त्यहां आफ्नो मुख्यालय स्थापना गरेको थियो।

गत हप्ता मात्रै संयुक्त राज्य अमेरिकाले एसडीएफको बहुसंख्यक सदस्य रहेका कुर्द मिलिसियालाई हातहतियार वितरण गर्न थालिएको घोषणा गरेको थियो।

संयुक्त राष्ट्र संघका अनुसार गत एप्रील महिना यता रक्का वरपर भएको लडाईंबाट करिब एकलाख मानिसहरु विस्थापित भएका छन्।