‘आतंकवादसँग जुध्न कानुन फेर्न तयार’

  • 7 जुन 2017
खतरा तस्वीर कपीराइट PA

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले प्रहरी र सुरक्षा निकायलाई आतंकवादको खतरासँग प्रभावकारी ढंगले जुध्नबाट रोक्ने मानव अधिकारसम्बन्धी जुनसुकै कानुन परिवर्तन गर्न आफू तयार रहेको बताएकी छन्।

सत्तारुढ कन्जरभेटिभ पार्टीका नेताहरुले पुनः प्रधानमन्त्री पदमा निर्वाचित भए मानव अधिकारसम्बन्धी युरोपेली कानुनहरुभन्दा बाहिरका व्यवस्था पनि अंगाल्न उनी तयार रहेको संकेत गरेका छन्।

ब्रिटेनमा आउँदो बिहीबार आमनिर्वाचन हुँदैछ।

आफ्ना अन्तिममध्येका एउटा चुनावी अभियानसँग सम्बन्धित भाषणमा प्रधानमन्त्री मेले संदिग्ध आतंकवादीहरुको स्वतन्त्रतामाथि नियन्त्रण र त्यस्तालाई उनीहरुकै देश फिर्ता पठाउने व्यवस्थालाई आफूले सहज बनाउन चाहेको बताइन्।

सार्वजनिक

मध्यलण्डनमा सातजनाको ज्यान जाने गरी शनिबार राति गराइएको हमलापछि प्रधानमन्त्री मेको त्यस्तो भनाई सार्वजनिक भएको हो।

लण्डन ब्रिज क्षेत्रमा भएको शनिबारको हमलामा मारिनेमा विदेशी नागरिक पनि थिए।

अस्ट्रेलियाकी विदेशमन्त्री जुली बिशपले मारिने सात जनामध्ये अर्की अस्ट्रेलियाली पनि रहेको पुष्टि गरेकी छिन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनी सारा जेलेनक हुन्।

चिन्ता

अस्ट्रेलियाली प्रधानमन्त्री माल्कोन टर्नबुलले उनीबारे आफूलाई विशेष चिन्ता लागेको बताएका थिए।

यसअघि एकजना २१ वर्षीया अस्ट्रेलियाली नर्स पनि मारिएको पुष्टि भएको थियो।

शनिबारको हमलामा मारिनेमध्ये दुईजना फ्रान्सका र एकजना क्यानाडाका नागरिक पनि रहेको बताइएको छ।

पाकिस्तानी मूलको हमलाकारीका काकाले बीबीसीसँग कुरा गर्दै हमलाको निन्दा गरेका छन् र पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

सुरक्षा कारबाहीमा तीनैजना हमलाकारी मारिएका थिए।