इरानको संसदमा आक्रमण

  • 7 जुन 2017
इरानको संसद तस्वीर कपीराइट AFP

इरानको संसद भवन र आयातोल्लाह खोमेनीको समाधीस्थलमा एकैपटक आक्रमण गरिँदा कम्तिमा १२ जना मारिएका छन् र अरु थुप्रै घाईते भएका छन्।

इरानमा तेस्रो आक्रमण भने विफल पारेको अधिकारीहरु बताउँछन्।

इस्लामिक स्टेट भनिने समूहले आक्रमणको जिम्मा लिएको छ।

यसअघि त्यो समूहले इरानमा आक्रमण गरेको थिएन।

आइएसले पछि संसद भवनभित्रको दृश्य भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो।

संसद भवन

संसद भवनभित्रका चारजना आक्रमणकारीलाई सुरक्षा फौजले मारेको इरानी सञ्चार माध्यमले बताएका छन्।

संसद भित्र कसैलाई बन्धक बनाएको अवस्था भने नभएको इरानका अधिकारीहरु बताउँछन्।

आक्रमणकारीहरु महिलाको भेषमा सार्वजनिक प्रवेशद्वारबाट संसदमा छिरेको बताइएको छ।

आधुनिक इरानका संस्थापक आयातोल्लाह खोमेनीको समाधीस्थलमा भने महिलाले आत्मघाती आक्रमणकारी गरेको बताइएको छ।

स्तब्ध

सन् १९ सय उनासीमा इस्लामवादी आन्दोलन भएपछिको समययता यो तेहरानमा भएको सबैभन्दा गम्भीर आतंकवादी आक्रमण हो।

छिमेकी देशहरु भन्दा धेरै शान्त र स्थीर रहेको इरानका बासिन्दालाई त्यो आक्रमणले स्तब्ध तुल्याएको छ।

इराक र सिरियामा इरानले सकृयतापुर्वक आइएससंग लडिरहेको छ तर सो सुन्नी समूहले हालसम्म इरानभित्र कुनै आक्रमण गरेको छैन र शिआ बाहुल्य भएको इरानमा उसका समर्थक धेरै देखिँदैनन्।

प्रचारबाजी

तर विगत केही महिनामा सो समूहले इरानको अशान्त सुन्नी अल्पसंख्यक समूहलाई लक्षित गर्दै फारसी भाषामा आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएको छ।

मार्चमा वृत्तचित्र शैलीको आइएसको एउटा भिडियोमा केही लडाकुहरुलाई इरानी भनेर चिनाइएको थियो।

फारसीमा बोल्दै उनीहरुले इरानी सरकार र धर्मगुरु आयातोल्लाह अलि खामेनी लगायत देशको धार्मिक प्रणालीको निन्दा गरेका थिए।

पुरानो शत्रु इरानमाथि सफल आक्रमण गरेर आइएसले ठुलो विजय हासिल गरेको दावी गर्न सक्छ किनकी उसको प्रतिद्वन्द्वी अल कायदा लगायतका अन्य सुन्नी जिहादी समूहले विगतमा त्यो प्रयासमा असफल भएका थिए।