देउवाद्वारा मन्त्रिमण्डल गठन

  • 7 जुन 2017
प्रधानमन्त्री देउवाको सपथ ग्रहण तस्वीर कपीराइट Reuters

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन्।

देउवाले गठन गरेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीको जिम्मेवारी पाउनेहरुमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् ।

गच्छदारलाई संघीय मामिला तथा स्थानीय विकास, महरालाई परराष्ट्र र श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

ज्ञानेन्द्रबहादुर कार्की अर्थ, फर्मुल्लाह मन्सुर श्रम, जर्नादन शर्मा गृह, प्रभु साह विना विभागीय मन्त्रीको रुपमा सरकारमा सहभागी गराइएका छन्।

प्रचण्ड नेतृत्वको सरकारमा रहेका तीन जना देउवा सरकारमा पनि परेका छन्।

दोहोरिने मन्त्री

यसरी दोहोरिनेमा विजय गच्छदार, कृष्णबहादुर महरा र जनार्दन शर्मा छन्।

महरा र शर्माको मन्त्रालय परिवर्तन गरिएको छ भने गच्छदारले यसअघि सम्हाल्दै आएको मन्त्रालयकै जिम्मेवारी पाएका छन्।

सरकारमा सहभागी भएकामध्ये काँगेस र माओवादी केन्द्रका तीन/तीन जना र नेपाल लोकतान्त्रिक फोरमका एक जना छन्।

सत्ता गठवन्धनबीच भएको भनिएको सहमति अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी र साना पार्टीहरुका लागि मन्त्रालय छुट्याइएको भनिए पनि आजको मन्त्री सूचीमा ती दलबाट कोही परेका छैनन्।

तस्वीर कपीराइट Reuters

पथ

कांग्रेसबाट सरकारमा सहभागी भएका तीनै जना देउवापक्षीय नेता भनी पार्टीभित्र चिनिन्छन्।

रामचन्द्र पौडेल पक्ष र कृष्ण सिटौलाका पक्षका कुनै पनि नेताहरु मन्त्रिमण्डलमा सहभागी गराइएका छैनन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले बुधबारै राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री देउवासहित नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले आजैदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ।