बालविवाह कानुन पीडित श्रीलंकाली

  • 8 जुन 2017

श्रीलंकाको कानुन अनुसार १८ वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइन्छ, तर दशकौंदेखिको एउटा सामुदायिक कानुन अनुसार त्यो भन्दा कम उमेरका भएपनि मुस्लिम केटीहरुको बिहे हुने गरेको छ। हाल उक्त कानुन खारेज गर्नुपर्ने माग बढ्दै गएको छ। बीबीसी सिंहालाका सरोज पाथिरानाले इच्छा विपरीत जबर्जस्ती बिहे गराइएकी एकजना मुस्लिम केटीलाई भेटेका थिए।

१५ वर्षकै उमेरमा शाफालाई इच्छा विपरीत बिहे गर्न बाध्य पारिएको थियो।

रुंदै उनले भनिन्, "परीक्षाको तयारी गरिरहेका बेला म एकजना केटाको प्रेममा परेँ। मेरा अभिभावकलाई त्यो मन परेन। उहाँहरुले मलाई मेरो मामाघर बस्न पठाउनुभयो। त्यहाँ बसेर पढिरहँदा सधैँ आइरहने एकजनाले मसँग बिहे गर्न चाहेको मेरा मामा-माइजूलाई भने।"

श्रीलंकाको एउटा दुर्गम गाउँमा बस्ने एक मुस्लिम परिवारकी केटी शाफाले बिहे गर्न अस्वीकार गरिन्।

माध्यमिक तहको अध्ययन पुरा गरी उनी आफूले मन पराएको केटासँग बिहे गर्न चाहन्थिन्।

Image caption श्रीलंकामा कम उमेरका मुस्लिम केटीको बिहे गर्न पाइने व्यवस्था भएको कानुन विवादमा परेको छ

तर शाफाको अस्वीकृति हुंदाहुंदै पनि उनका मामा-माइजूले आफूहरुको चिनजानका केटासँग बिहेको टुंगो लगाए।

जब-जब शाफाले बिहे गर्न अस्वीकार गर्दथिन्, उनले कुटाइ खानुपर्थ्यो।

उनका मामा-माइजूले आफूहरुको कुरा नमाने मारिदिने धम्की दिने गर्दथे।

बाहुला सारेर घाउको खत देखाउँदै शाफाले भनिन्, "मैले आफ्नो हात काटेँ किनकि मसँग कुनै विकल्प थिएन। मैले काकाको घरबाट औषधि पनि खाएँ। अस्पतालमा मेरो उपचार भइरहँदा उनीहरुले डाक्टरलाई पैसा खुवाएर स्लाइनसहित मलाई एउटा निजी अस्पतालमा लगे। केही दिनपछि मलाई उनीहरुले भनेको केटासँग बिहे गर्न बाध्य पारे।"

कुनै बाटो नदेखेपछि कम उमेरका आफ्ना श्रीमानसंग बस्ने शाफाले निधो गरिन्, तर उसले पूर्व प्रेमीसँग शाफाको अझै सम्पर्क रहेको शंका गर्ने गर्दथ्यो।

"उसले मलाई सधैं कुट्थ्यो," शाफाले भनिन्, "जब मैले आफू गर्भवती भएको भनेँ उसले मलाई उठाएर भुईँमा खसालिदियो।"

शाफाले थपिन्, "त्यसपछि उसले मलाई एकरातका लागि चाहेको भन्यो। उसलाई मेरो थप आवश्यकता रहेन। हिंसाका कारण मैले मेरो बच्चा गुमाएको कुरा अस्पातलमा गएपछि थाहा पाएँ।"

उजुरी गर्न पुग्दा उनको समस्यालाई प्रहरीले गम्भीर रुपमा लिएनन्।

एकदिन गाउँको एउटा मस्जिदबाट उनलाई फोन आयो।

त्यहाँ उनका श्रीमानले बिहेलाई निरन्तरता दिन सहमति जनाएका रहेछन्, तर शाफाले अस्वीकार गरिन्।

'मेसेज'

त्यसको केही दिनपछि उनलाई अपरिचितहरुबाट सँगै सुत्नका लागि कति पैसा लिने भन्दै फोन र 'मेसेज' आउन थाले।

शाफालाई लाग्यो पक्कै श्रीमानले सामाजिक सञ्जालमा फोटो र नम्बर राखेको हुनुपर्दछ।

अश्लील गाली गर्दै फोनमा उनलाई मान्छेहरुले भन्थे, "हामीले तिम्रो श्रीमानबाट नम्बर पाएका हौँ।"

आफ्नो कहानी सुनाउन दृढ देखिएकी शाफाले रुंदै भनिन्, "मैले ती सबै कल रिकर्ड गरेँ र अझै मसँग ती सारा मेसेज सुरक्षित छन्।"

शाफाका बुबा ती सबै कुरामा मुछिन् चाहिरहेका थिएनन्।

तर शाफाकी आमाले अचेल उनलाई एउटा समाज कल्याण केन्द्रमा लगिरहेकी छिन् जहाँ वैवाहिक तनाव झेलेकाहरुलाई मनोपरामर्श र कानुनी सहायता उपलब्ध हुन्छ।

उनीहरु गोप्य रुपमा त्यहाँ जाने गरेका छन् किनकि श्रीलंकामा महिलाहरुले त्यस्तो गर्नु अझै राम्रो मानिंदैन।

आफ्ना पाँचजना सन्तानको पालनपोषणका लागि शाफाकी आमाले गाउँमा दैनिक ज्यालादारी गर्छिन्।

विस्थापित

सन् १९९० मा तमिल टाइगर पृथकतावादीहरुका कारण उनी आफ्नो गृहनगरबाट अन्यत्र सरेकी हुन्।

उनले भनिन्, "एउटा घटनाका कारण मैले छोरीलाई मेरो दाजुको घरमा बस्न पठाएकी थिएँ। मैले सोचेकै थिइनँ उसँग यस्तो होला भनेर।"

आफूले छोरीको इच्छा विपरीत बिहे गर्न नहुने भने पनि दाजुले नमानेको उनले बताइन्।

"त्यो जबरजस्ती बिहे थियो", उनले भनिन्, "अहिले मलाई (उसको श्रीमानले फैलाएको अफवाहका कारण) उसको सुरक्षा र शिक्षाबारे चिन्ता छ । उ अहिले स्कूल पनि जान सक्दिन। बसमा उसले यात्रा पनि गर्न सक्दिन। उसको भविष्य नै अनिश्चित भएको छ।"

श्रीलंकामा शाफा जस्तै मुस्लिम अल्पसंख्यक समुदायका सैयौं केटीहरुका अभिभावकले उनीहरुको इच्छा विपरीत बिहे गराउने गरेको पाइएको छ।

मानव अधिकारबारे जानकार वकिल इर्मिजा तेगाल भन्छिन्, बढ्दो रुढिवादका कारण पूर्वी प्रान्तमा मुस्लिम समुदायमा एक वर्षमा १४ देखि २२ प्रतिशतले बालविवाह बढेको छ।

शाफा त १५ वर्षकी हुँदा उनको इच्छा विपरीत बिहे गराइएको थियो, तर मुस्लिम महिला समूहहरुका अनुसार १२ वर्षकै उमेरमा केटीहरुको बिहे गराउने गरिएको पाइन्छ।

श्रीलंकाको कानुनले कम उमेरमा बिहे गर्ने अनुमति दिंदैन।

कानुनले तोकेको बिहे गर्ने उमेर १८ वर्ष हो, तर दशकौं पुरानो 'मुस्लिम विवाह तथा सम्बन्ध विच्छेद ऐन' अनुसार सो समुदायका अगुवाले बिहे गर्ने उमेरको टुंगो लगाउन पाउँछन्।

अनुमति

बिहेका लागि न्यूनतम उमेर त तोकिएको छैन, तर १२ वर्षमुनिका केटीहरुको हकमा इस्लामिक मजिस्ट्रेटबाट अनुमति लिनुपर्ने हुन्छ।

केटी तथा उनीहरुका आमाले दशकौंदेखि चुपचाप त्यो सहंदै आएका छन्, तर मुल्लाह र समुदायका अरु नेताहरुबाट धम्की आउने भएपनि मुस्लिम महिला अधिकारकर्मीहरु अहिले उक्त ऐनमा सुधार ल्याउनुपर्ने भन्दै अघि सर्न थालेका छन्।

श्रीलंकाले संविधानमा सुधार गर्न खोजिरहेको छ। र, बिहेसम्बन्धी कानुनमा फेरबदल गर्ने यही समय उपयुक्त रहेको अधिकारकर्मीहरु ठान्दछन्।

संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पनि श्रीलंका सरकारलाई मुस्लिम बिहे र सम्बन्ध विच्छेदसम्बन्धी ऐनमा संशोधन गर्न आग्रह गरेका छन्।

जामियातुल उल्मा र तौहिद जमात जस्ता मुस्लिम संगठनहरुले ऐनमा संशोधन गर्ने मागप्रति विमति राख्दै आएका छन्।

‍तौहिद जमातका कोषाध्यक्ष बीएम अर्शदले समुदायबाट प्रस्ताव आए सुधारका लागि तयार रहेको बताए।

यद्यपि बिहेका लागि न्यूनतम उमेर तोक्ने कुरा आफूहरुलाई मान्य नहुने उनको भनाइ छ।

(शाफाको गोपनीयता कायम राख्‍नको लागि उनको नाम परिवर्तन गरिएको छ।)