ब्रिटेनको आम निर्वाचनमा मतदान जारी

  • 8 जुन 2017
ब्रिटेन तस्वीर कपीराइट Reuters
Image caption ब्रिटेनको आम निर्वाचनमा चालीस हजार मतदान केन्द्र बनाइएका छन्

ब्रिटेनमा भइरहेको आम निर्वाचनमा देशभरका ४० हजार मतदान केन्द्रहरुमा मतदान भइरहेको छ।

बिहीबार बिहान ब्रिटिश समय ७ बजेदेखि शुरु भएको मतदान बेलुका १० बजे सम्पन्न हुनेछ।

मतदान कार्य बन्द हुने बित्तिकै गणना शुरु हुनेछ।

४ करोड ६९ लाख मतदाताले ६५० जना सांसदहरु निर्वाचित गर्नेछन्।

मतदान केन्द्र

यो संख्या २०१५ को आम निर्वाचन भन्दा केही बढि छ। त्यसबेला मतदाता संख्या ४ करोड ६४ लाख थियो।

तस्वीर कपीराइट EPA/PA
Image caption विपक्षी नेता जेरेमी कोर्बिन र प्रधानमन्त्री टरिजा मेले सात हप्ता लामो अभियानपछि बिहीबार मतदान गरेका छन्

कैयौंले यस अघि नै हुलाकबाट मतदान गरिसकेका छन्। त्यो संख्या सन २०१५ को चुनावमा १६.४ प्रतिशत रहेको बताइएको छ।

कन्जरभेटिभहरुले ६५० मध्ये ३३१ सीट जितेको सन २०१५को निर्वाचनमा करिब ६६.४ प्रतिशत मतदाताले मतदान गरेका थिए जुन संख्या सन २०१० को भन्दा बढि थियो।

धेरैजसो मतदान केन्द्रहरु विद्यालय र सामुदायिक भवनमा रहेका छन्।

हालैका आतंकवादी आक्रमणपछि हुन लागेको निर्वाचनका मतदान केन्द्रहरुमा प्रहरीले सुरक्षा बढाएका छन् र कुनै कुनै क्षेत्रमा सशस्त्र अधिकारीहरुले गस्ती गरिरहेका छन्।

परिणाम

मध्यरातसम्ममा केही परिणाम घोषणा भइसक्ने ठानिएको छ।

शुक्रबार मध्यान्हसम्म अन्तिम परिणाम आउने ठानिएको छ।

यसपटक आम निर्वाचनसँगै स्थानीय निर्वाचन नगरिएकाले चुनावी परिणाम यसअघि भन्दा छिटो आउनसक्छ।

हाउस अफ कमन्समा बहुमत ल्याउन कुनै एउटा पार्टीले ३२६ सीट ल्याउनुपर्ने छ।