‘एक हप्ता भित्रै मन्त्रिपरिषद् विस्तार’

  • 9 जुन 2017
देउबा

तीन उपप्रधानमन्त्री र चार मन्त्री सहित बिहीबार पद सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवालाई आफ्नै पार्टिभित्रका विभिन्न गुटलाई सन्तुष्ट पार्दै मन्त्रिपरिषद् विस्तार गर्न मुस्किल परेको बताइएको छ।

उनको प्रयास सत्तागठबन्धनमा रहेका दलहरु बीच मन्त्रालयको टुङगो लाग्न नसक्दा जटिल बनेको नेताहरुको भनाई छ।

सकस

रामचन्द्र पौडेल खेमाका नेतालाई सन्तुष्ट पार्न नसकेको कारण प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न गाह्रो परेको बताइएको छ।

तर पार्टिभित्रका विभिन्न गुटको भागबन्डा केहि दिनमै सल्टाउने र दोस्रो चरणको निर्वाचन भन्दा पहिले नै मन्त्रिपरिषद् विस्तार हुने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

उनले भने, "भोलि पर्सीमा दुईजनाको नाम ल्याउन भनिएको छ। अब विभागको टुङ्गो लगाए पछि सबै टुङ्गो लाग्छ।''

सत्ता साझेदार माओवादी केन्द्रलाई पनि मन्त्रीको टुङ्गो लगाउन यस्तै सकस परेको अनौपचारिक रुपमा बताइएको छ। तर उनीहरुले औपचारिक प्रतिक्रिया दिन भने चाहेनन्।

प्रधानमन्त्री निर्वाचनका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत साना दलहरुलाई पनि सरकारमा सहभागी बनाउने प्रयास भइरहेको बताइएको छ।

'मन्त्रिमण्डल ठूलो हुने'

आफूले खोजेको मन्त्रालय माग्ने प्रवृत्तिले पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छलफलमा सहभागी नेताहरुले बताएका छन्।

देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सबै पार्टिलाई समावेश गर्ने योजना भएकोले अब विस्तार हुने मन्त्रिमण्डल ठूलै आकारको हुने कतिपय सत्तापक्षका नेताहरुको भनाई छ।

देउवा निकट काँग्रेस नेता मीनबहादुर विश्वकर्माले भने, "काँग्रेसको भागमा १० देखि ११ मन्त्रालय रहन्छ र माओवादी केन्द्रको भागमा ८ देखि ९ वटा हुन्छ। अन्य दललाई पनि सम्मानित ढङ्गबाट सिट उपलब्ध गराउने भएकाले सानो मन्त्रिमण्डल बनाउन नसकिने अवस्था छ।''

बुधबार गठन भएको मन्त्रिपरिषद्मा संविधानमा उल्लेख भए अनुसार महिला र दलित समुदायको प्रतिनिधित्व नभएको आलोचना भइरहेका बेला अब हुने विस्तारलाई समावेशी बनाइने काँग्रेस नेताहरुको भनाई छ।