चुनाव परिणामले प्रधानमन्त्री मे दबाबमा

  • 9 जुन 2017
टरिजा मे तस्वीर कपीराइट Reuters

समयभन्दा अगावै आफैंले घोषणा गरेको आमचुनावमा कन्जरभेटिभ दलले अपेक्षाभन्दा कम सिट जितेपछि प्रधानमन्त्री टरिजा मे माथि राजनीतिक दबाब परेको देखिएको छ।

टोरी अर्थात सत्तारुढ कन्जरभेटिभ दलले आफूसंग भएको भन्दा निकै सिट गुमाउने देखिएको छ।

अन्तिम मत परिणाम आउञ्जेलसम्म उसले ३१८ सिट ल्याउने देखिन्छ भने विपक्षी लेबर दलले २६१ अनि एसएनपीले ३५ सिट ल्याउने ठानिएको छ।

अर्थात अबको संसदमा कुनै पनि दलको स्पष्ट बहुमत हुनेछैन। यसअघि कन्जरभेटिभको बहुमत थियो।

साविकभन्दा टोरीले १३ सिट गुमाउने अनि लेबरले २९ सिट बढ्ता जित्ने देखिएको छ।

बहुमतका निम्ति ३२६ सिट जित्नुपर्छ।

यसपाली करिब ६८.७ प्रतिशत मतदाता सहभागी भएका छन्।

लेबर दलका नेता जेरेमी कोर्बिनले मतपरिणामप्रति गर्व लागेको भन्दै प्रधानमन्त्री मे ले जनताको सच्चा प्रतिनिधित्व गर्ने सरकारका निम्ति बाटो छाडिदिनुपर्ने प्रतिक्रिया दिएका छन्।

तर मे ले ब्रिटेनलाई स्थिरता आवश्यक भएको बताएकी छन्।