प्रधानमन्त्री मेले नयाँ सरकार गठन गर्ने

  • 9 जुन 2017
टरिजा मे तस्वीर कपीराइट Reuters

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले आम निर्वाचनमा आफ्नो पहिलेको संसदीय बहुमत गुमाएपनि नयाँ सरकार गठन गर्ने घोषणा गरेकी छन्।

उनले ब्रिटेन युरोपेली संघबाट बाहिरिने वार्ताका लागि बलियो जनादेश हासिल गर्ने उद्देश्यले समय अगावै आम निर्वाचन गराएकी थिइन् जसको परिणाम उनले सोचे जस्तो आएको छैन।

प्रधानमन्त्री मेले ब्रिटेनले इयुको सदस्यता परित्याग गर्ने विषयको वार्ता पूर्व निर्धारित समयतालिका बमोजिम नै अबको १० दिनमा आरम्भ हुने बताएकी छन्।

उनले उत्तरी आयरल्याण्ड केन्द्रित डेमोक्र्याटिक युनियनिस्ट पार्टीसँग मिलेर गठबन्धन सरकार बनाउनेछिन्।

अधिकार

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले आफूले ठूलो अन्तरले जित्ने आशाका साथ समयअगावै आमचुनाव गर्ने घोषणा गरेकी थिइन्।

सत्तारुढ कन्जरभेटिभ दलसंग संसदीय बहुमतका लागि आवश्यक विपक्षी लेबर दलका नेता जेरेमी कोर्बिनले राजीनामा दिन प्रधानमन्त्रीसँग माग गरेका छन्।

कोर्बिनले सत्ता चलाउन आफू तयार रहेको पनि बताएका छन्।

यसैबीच, बकिङ्कघम दरबारमा शुक्रबार २५ मिनेट बिताएर फर्केलगत्तै मेले सबैभन्दा धेरै सिट र मत जितेको उनको दललाई मात्र सरकार चलाउने अधिकार रहेको बताइन्।

उनले भने, "यो मतपरिणामले हामीलाई एउटा देशका रुपमा एकताबद्ध भएर अघि बढ्न सहयोग पुग्नेछ। र हाम्रो सम्पूर्ण उर्जा एउटा सफल ब्रेक्जिट सम्झौता हासिल गर्नमा केन्द्रित गर्न सकिन्छ, जुन यो देशका सबै बासिन्दाको हितमा हुनेछ।

"इयुसँग नयाँ साझेदारी हासिल गर्न सकिन्छ र त्यसबाट हाम्रो दीर्घकालीन समृद्धिको प्रत्याभूति प्राप्त हुनेछ। गत जुन महिनामा पनि मानिसहरुले त्यसैका लागि भोट हालेका थिए, त्यो नै हामी हासिल गरेर देखाइदिने छौं। अब हामी सबै मिलेर काम गर्न तर्फ लागौं।''

अल्पमतको सरकार

आफ्नो कन्जरभेटिभ दल र उत्तरी आयरल्याण्ड केन्द्रित डीयुपीका सहयोगमा उनले अल्पमतको सरकार गठन गरेकी छन्।

प्रधानमन्त्री मेले महत्वपूर्ण ब्रेक्जिट वार्ता पूर्वघोषित तालिका अनुसार अबको १० दिनमा शुरु हुने बताएकी छन्।

युरोपेली राजनीतिज्ञहरुले ब्रिटेनमा भएको चुनावको परिणामले ब्रेक्जिट प्रक्रियामा तनाव थपिनसक्ने चिन्ता व्यक्त गरेका छन्।

ब्रिटेन युरोपेली संघबाट प्राविधिक रुपमा बाहिरिने प्रक्रिया शुरु हुन अब १० दिन बाँकी छ र युरोपेली आयोगका अध्यक्ष जाँ क्लोड युंकरले ब्रिटेन इयुले व्यग्रताका साथ प्रतीक्षा गरिरहेको वार्ताका लागि तयार रहने दृढ आशा लिएको बताएका छन्।