कोमीबारे बयान दिन तयार छु: ट्रम्प

  • 10 जुन 2017
ट्रम्प र कोमी तस्वीर कपीराइट Reuters

राष्ट्रपति ट्रम्पले गत महिना बर्खास्त गरेका एफबीआइका पूर्व निर्देशक जेम्स कोमीसंग उनले गरेका कुराकानीबारे बयान दिन आफु शतप्रतिशत तयार भएको ट्रम्पले बताएका छन्।

रुससंग ट्रम्पको चुनावी अभियानको सांठगांठबारे को एफबीआइको अनुसन्धान रोक्न राष्ट्रपतिले आफुलाई भनेको भन्ने कोमीले सिनेट समक्ष दिएको बयान असत्य भएको ट्रम्पले बताएका छन्।

ह्वाइट हाउसमा बोल्दै उनले कोमीसंग बफादारी खोजेको वा आफ्ना पूर्व सल्लाहकारमाथि छानविन रोक्न खोजेको भन्ने विवरण झुटा भएको बताए।

जेम्स कोमीले आफुले भन्दै आएका कतिपय कुरा पुष्टी गरिदिएको तर कतिपय पूर्ण असत्य कुरा बोलेको ट्रम्पले बताएका छन्।

षडयन्त्र

तस्वीर कपीराइट Getty Images

कोमीले बयानका क्रममा रुससम्बन्धी छानविनकै विषयलाई लिएर राष्ट्रपतिले आफुलाई बर्खास्त गरिदिएको बताएका थिए।

संघीय जाँच ब्यूरो एफबीआइका पूर्व निर्देशक कोमीले गत वर्षको अमेरिकी चुनावमा ट्रम्पलाई जिताउने उद्देश्यका साथ क्रेमलिनले षडयन्त्र गरेको भन्ने आरोपहरुको छानविन गर्दै थिए।

साथै, त्यस्तो षडयन्त्रमा राष्ट्रपति ट्रम्प स्वयं वा उनको अभियान सामेल थियो वा थिएन भन्ने बारे उनले खोजबिन गर्दै थिए।

रुसी षडयन्त्रको आरोपबारे अनुसन्धान गरिरहेका कतिपय संसदीय समितिमध्येको एक समक्ष बिहीबार बयान दिंदै कोमीले राष्ट्रपतिले आफुलाई उनका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनमाथिको छानविन पनि रोक्न भनेको बताए।

फ्लिनलाई मस्कोका राजदूतसंग उनले गरेका कुराकानीबारे ह्वाइट हाउसलाई गलत जानकारी दिएको आरोपमा पदबाट हटाइएको थियो।

यसबीच अमेरिकी संसदको तल्लो सदनको एउटा छुट्टै गुप्तचरीसम्बन्धी समितिले ह्वाइट हाउसलाई राष्ट्रपति ट्रम्प र कोमीबीच भएका कुराकानीको रेकर्ड उपलब्ध गराउन भनेको छ।

साथै, कोमीलाई पनि ती कुराकानीका टिपोट बुझाउन भनिएको छ।