चुनावको मिति सर्दैन: सत्तारुढ गठवन्धन

  • 10 जुन 2017
मन्त्रिपरिषद् कार्यालय

संविधान संशोधनको माग पूरा नभए आन्दोलनमा होमिने बताइरहेको राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउन भन्दै सत्तारुढ दलले शनिबार डाकेको संयुक्त बैठक विना निष्कर्ष टुङ्गिएको छ।

सत्ता सम्हालेपछि पहिलोपटक सहमति प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजपाका नेताहरुले चुनावको मिति केही समय सारेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरेको नेताहरुले बताएका छन्।

'असम्भव'

दोस्रो चरणको स्थानीय चुनावको मिति नजिकिसकेकोले केही प्राविधिक पक्ष खुकुलो पार्ने बाहेक मिति सार्ने कार्य असम्भव जस्तै रहेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए।

उनले भने, "निर्वाचन आयोगसँग छलफल गरेर केही प्राविधिक विषयमा सहजता ल्याउन सकिन्छ तर मिति सार्ने काम अब हुन्न भनेर हामीले उहाँहरुलाई बतायौं"।

राजपाको प्रमुख मागबारे सहमतिको प्रयत्न भएपनि दोस्रो चरणको चुनावअघि त्यो पूरा हुने सम्भावना झिनो रहेको सत्तारुढ नेताहरुले बताए।

अडान

राजपाको अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफूहरुका माग पूरा नभए आन्दोलनमा होमिनुको विकल्प नरहेको बताए।

उनले भने, "चुनावको मितिभन्दा हाम्रो माग महत्वपूर्ण विषय हो। हाम्रा मागलाई नजरअन्दाज गरी निर्वाचन गरिए सिङ्गो तराईको उपहास हुन्छ"।

सत्तारुढ दलहरुले आन्तरिक छलफल गरेर मागबारे सहमतिका लागि शनिबारै साँझ वा भोलि बिहान पुन: छलफल गर्ने जनाएका छन्।

राष्ट्रिय जनता पार्टी नेपालले भने सहमति नभए आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ।