राजपाका मागबारे 'आइतबार फेरि दलीय वार्ता'

  • 10 जुन 2017
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

स्थानीय तहको दोस्रो चरणको चुनावका लागि १८ दिनमात्र बाँकी रहेको अवस्थामा संविधान संशोधन लगायतका राजनीतिक मुद्दा सम्बोधन गर्न नसकिने भन्दै राष्ट्रिय जनता पार्टी नेपालले चुनावको मिति सार्न आग्रह गरेको सत्तारुढ नेताहरुले जनाएका छन्।

तर आफूहरुले भने निर्वाचन आयोगसँग परामर्श गरेर केही प्राविधिक जटिलता भएमात्र समाधानको पहल गर्न सकिने जनाउँदै घोषित मिति कुनै हालतमा सार्न नमिल्ने जवाफ दिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

हालै संशोधित ऐनअनुसार निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयनसम्बन्धी हस्ताक्षर बुझाउने मिति शनिबारदेखि सोमबारसम्मका लागि तय गरेका बेला पछिल्लो राजनीतिक छलफल भएको छ।

सत्ता सम्हालेपछि पहिलोपटक सहमति प्रयासका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राखेको उक्त छलफलमा राजपा नेपालका नेताहरुले चुनावको मिति केही समय सारेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरेको सत्तारुढ दलहरुले बताएका छन्।

संविधान संशोधनको माग पूरा नभए निर्वाचनमा भाग नलिई आन्दोलनमा होमिने राजपा नेपालका नेताहरुले बताएपनि सहमतिको प्रयास आइतबारसम्म जारी रहने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनाए।

वार्ता

उनले भने, ''बैठकमा राजपा नेताहरुले बताउनु भएअनुसार उहाँहरु अहिलेपनि चुनावमा आउने स्थिति देखापरेन। हामीसँग अब समय पनि छैन र चुनावको मितिपनि सार्न सम्भव छैन भनेर हामीले भन्यौं। तर पनि वार्ता पूर्ण रुपमा भङ्ग भइसकेको छैन।''

राजपा नेपाललाई निर्वाचनमा ल्याउने प्रयास स्वरुप निर्वाचन ऐन संशोधन गरिसकिएको र थप केही प्राविधिक विषय सल्टाउन सकिनेबारेमा उक्त दलका नेताहरुलाई स्पष्ट पारिएको सत्तारुढ दलहरुले जनाएका छन्।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भने, ''उहाँहरु चुनावमा जाने भएपछि प्राविधिक कुरा त निर्वाचन आयोगसँग बसेर मिलाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ। पहिलो त उहाँहरुको चुनावमा जानलाई आफ्ना राजनीतिक माग पूरा नहुँदासम्म कसरी चुनावमा जाने, प्राविधिक कुरा त अहिले गौण भयो भन्ने उहाँहरुको कुरा छ। त्यसो भएको हुनाले अहिले कुरा मिलेको छैन।''

प्राविधिक

तर संविधान संशोधनसहितका वाचा सत्तारुढ गठवन्धनले पूरा नगरेको भन्दै बैठकमा राजपा नेपालका नेताहरुले उक्त प्रतिवद्धता पूरा नभए आन्दोलनमा होमिने चेतावनी दिएको बताइएको छ।

राजपाको अध्यक्ष मण्डलका एक सदस्य शरतसिंह भण्डारीले भने, ''राजनीतिक विषय सम्बोधन नभएसम्म अन्य प्राविधिक कुराहरुबारेमा केही छलफल गर्ने कुरा छैन। समय हामीले सरकारसँग मागेको होइन। यत्रो ठूलो शक्तिलाई र हैसियतलाई बाहिर राखेर चुनाव गराउँदा यो चुनावको औचित्य पनि भोलि प्रमाणित हुँदैन र संविधान पनि कार्यान्वयन हुन सक्दैन।''

सत्तारुढ दलहरुले आन्तरिक छलफल गरेर ती मागमा सहमतिका लागि आइतबार बिहानसम्म प्रयास गर्ने जनाएपनि राजपा नेपालका कतिपय नेताले आफूहरु निर्वाचनमा सहभागी हुने सम्भावना झिनो बन्दै गएको बताएका छन्।

राजपाले सहमति नभए आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।