लिबियाः ‘गद्दाफीका उत्तराधिकारी रिहा’

  • 11 जुन 2017
इस्लाम तस्वीर कपीराइट AFP/Getty Images

सत्ताच्युत गरिएका लिबियाका दिवंगत शासक कर्णेल गद्दाफीको उत्तराधिकारीका रुपमा हेरिएका व्यक्तिलाई जेलबाट रिहा गरिएको बताइएको छ।

पश्चिमी लिबियाको जिन्तान नगरमाथि नियन्त्रण गरेको एक लडाकु समूहले गद्दाफीका दोस्रो छोरा सेफ अल-इस्लामलाई शुक्रबार एक माफी सहमति अन्तर्गत रिहा गरेको हो।

लिबियामा भएको क्रान्तिका क्रममा सन् २०११ मा कर्णेल गद्दाफी मारिए लगत्तै सेफ अल-इस्लामलाई पक्राउ गरिएको थियो।

सन् २०१५ मा त्रिपोलीस्थित एक अदालतले तत्कालीन सत्ताविरुद्धको आन्दोलनलाई दबाउने विफल प्रयासका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उनलाई मृत्युदण्ड सुनाएको थियो।

अस्वीकार

तर लडाकु समूहले उनलाई बुझाउन अस्वीकार गर्दै आएको थियो।

लडाकु समूहको नियन्त्रणमा उनी ६ वर्षसम्म रहे।

युद्ध अपराध तथा मानवताविरुद्ध अपराधका मुद्दामा हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनको खोजी गरिरहेको छ।

यसअघि पनि उनी रिहा गरिएका झुटा खबरहरु सार्वजनिक भएका थिए।

४४ वर्षीय सेफ अल-इस्लामले लण्डन स्कूल अफ इकोनोमिक्सबाट विद्यावारिधी गरेको बताउने गरिएपनि त्यो विवादास्पद छ।

दशकौं लामो गद्दाफी शासन अन्त्य भएपछि लुक्दै बसेका सेफ अल-इस्लाम तीन महिनापछि समातिएका थिए।

सुधारवादी

सन् २००० पछि पश्चिमा मुलुकहरुसँग लिबियाको सम्बन्ध बढाउने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ।

पिताको शासनकालमा उनलाई एकजना सुधारवादीका रुपमा लिइन्थ्यो।

समातिएपछि उनीसहित गद्दाफीका ३० जना सहयोगीविरुद्ध मुद्दा चलाइएको थियो।

शुक्रबारको उनको रिहाइबारे त्रिपोलिस्थित सरकारी पक्षबाट कुनै पुष्टि गरिएको छैन।

यद्यपि लडाकु समूह अबु बकर अल-सिद्दिक बटालियनको फेसबुक पेजमा संसद्ले उनलाई माफी दिएको उल्लेख गरिएको छ।